काठमाडौँ, १९ चैत / सूचना प्रविधिको तीव्र विस्तारसँगै ‘डिजिटल’ माध्यमबाट हुने हिंसा बढ्दै गएको भन्दै सांसद र युवा सङ्गठनका प्रतिनिधिहरूले यसको कानुनी रूपमा न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन्।
महिला सेवा संस्था नेपाल द्वारा आयोजित ‘बदलिँदो राजनीतिक परिस्थितिमा युवाको भूमिका’ विषयक एकदिने संवाद कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद कमल सुवेदी ले सूचना प्रविधिको युगमा डिजिटल माध्यमलाई व्यवस्थित गर्न स्पष्ट कानुनी ढाँचा आवश्यक रहेको बताए।
उनले डिजिटल माध्यमबाट हुने प्रचार–प्रसारले लोकतन्त्रलाई सुदृढ बनाएको भए पनि भ्रमपूर्ण र गलत सूचना फैलिने जोखिम पनि बढेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कानुन जरुरी रहेको बताए।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी की सांसद पार्वती विके ले डिजिटल माध्यममार्फत महिला हिंसा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले विशेषगरी महिलामाथि हुने अनलाइन दुर्व्यवहार, धम्की र दुव्र्यवहारलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताइन्।
कार्यक्रममा सहभागी युवाहरूले डिजिटल प्रजातन्त्रलाई सुदृढ बनाउन युवाको सक्रिय सहभागिता, एकता र संवाद आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले डिजिटल माध्यमलाई सकारात्मक प्रयोग गर्दै मुलुकका समस्या समाधानमा योगदान दिनुपर्नेमा समेत जोड दिएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।