JanaKura

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौँ, १७ चैत : विज्ञापन बोर्ड ले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका माध्यममा विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न/नगराउन आग्रह गरेको छ।

बोर्डका अनुसार सरकारले यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत सबै प्रकारका बेटिङ एप तथा वेबसाइट बन्द गर्ने निर्णय गरिसकेको छ। सो निर्णयलाई कार्यान्वयन गर्न गैरकानुनी रूपमा भइरहेका विज्ञापन तत्काल बन्द गर्न सरोकारवालासँग अनुरोध गरिएको छ।

गैरकानुनी रूपमा सञ्चालनमा रहेका तथा बन्द गरिएका एप र वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने बोर्डले चेतावनी दिएको छ। यस्ता गतिविधि भइरहेको जानकारी पाएमा बोर्डमा तत्काल उजुरी गर्न पनि आग्रह गरिएको छ।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्री का अनुसार विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ ले जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने तथा अनुमति नलिएको चिठ्ठा खरिद–बिक्रीसँग सम्बन्धित विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ।

Exit mobile version