JanaKura

महिलाको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ, २४ फागुन : प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक समानता, लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको संस्कृतिलाई अझ सुदृढ बनाउन सबै पक्षलाई हातेमालो गर्न आह्वान गर्नुभएको छ।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले अझै पनि धेरै महिला गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, सम्मानजनक रोजगारी तथा नेतृत्व तहमा अर्थपूर्ण सहभागिताबाट वञ्चित रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले समाजमा महिलाप्रति विश्वासको अभाव अझै कायम रहेको बताउँदै विगतमा घरभित्र देखिएको विभेद आज विभिन्न कार्यस्थलमा नयाँ स्वरूपमा देखिन थालेको उल्लेख गर्नुभयो।
“हाम्रो लक्ष्य केवल महिलाको सहभागिता बढाउने मात्र होइन, उनीहरूको अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नु हो,” उहाँले सन्देशमा भन्नुभएको छ।
उहाँका अनुसार पछिल्ला वर्षहरूमा शिक्षाको विस्तार र चेतनाको स्तर बढेसँगै महिला अधिकारका पक्षमा आवाज पनि बलियो बन्दै गएको छ। तर सबै महिलाको अवस्था समान नरहेको भन्दै समाजका विभिन्न वर्ग र समुदायका महिलाले अझै धेरै चुनौती सामना गरिरहनुपरेको उहाँले औँल्याउनुभयो।
प्रधानमन्त्री कार्कीले विशेषगरी दलित, कर्णाली र मधेस क्षेत्रका महिला तथा अन्य सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माण प्रक्रियामा अझ स्पष्ट रूपमा प्रतिविम्बित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
समानता, सशक्तीकरण र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्नु आजको ऐतिहासिक दायित्व भएको उल्लेख गर्दै उहाँले यो जिम्मेवारी राज्यको मात्र नभई राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चार माध्यम तथा राष्ट्रिय र अन्तरराष्ट्रिय विकास साझेदार सबैको साझा दायित्व भएको बताउनुभयो।
प्रधानमन्त्री कार्कीले महिलाले सम्मान, सुरक्षा र समान अवसर प्राप्त गरेमा मात्र लोकतन्त्र सुदृढ हुने र संविधानको मर्म पूर्ण रूपमा कार्यान्वयन हुने उल्लेख गर्नुभयो।
उहाँले अन्तरराष्ट्रिय महिला दिवसले सबैमा समानता, न्याय, समावेशिता र लोकतान्त्रिक चेतनालाई अझ सशक्त बनाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

Exit mobile version