JanaKura

निर्वाचनमा विजय–पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार महत्त्वपूर्णः डा. शेखर कोइराला

मोरङ, २३ फागुन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनको विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार र संस्कृति महत्त्वपूर्ण हुने बताउनुभएको छ।
आज एक विज्ञप्ति जारी गर्दै मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यलाई बधाई दिँदै उहाँले निर्वाचन परिणामलाई आफूले सहज रूपमा स्वीकार गरेको उल्लेख गर्नुभयो।
डा. कोइरालाले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गर्दै सक्षम र योग्य उम्मेदवार विजयी भएको बताउनुभयो। साथै आगामी संसद्मा युवा शक्तिको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आफ्नो पक्षमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

Exit mobile version