JanaKura

नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने,आयात नगर्न अनुरोध 

काठमाडौँ, १ असोज ।
देशभर उत्पादन भएको केराले नै यसपालि दसैँ, तिहार र छठको माग सहजै धान्ने भएकाले विदेशी केरा आयात नगर्न किसान र व्यवसायीहरूले एकजुट हुँदै सार्वजनिक अपिल गरेका छन्।

नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार हाल देशभर उत्पादन उत्साहजनक अवस्थामा छ र चाडपर्वका लागि पर्याप्त मात्रामा उपलब्ध छ। तर विदेशी केरा निरन्तर आयात भइरहेकाले यसले नेपाली किसान, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने खतरा बढेको भन्दै महासङ्घले देशभरका फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घलाई पत्राचार गरेर आयात रोक्न आग्रह गरेको छ।

महासङ्घले जारी गरेको अनुरोधपत्रमा भनिएको छ, “नेपाली बजारमा विदेशी केरा भित्रिन छाडेमा हाम्रो उत्पादनले सहजै माग पूरा गर्न सक्छ। तर आयात निरन्तर बढे किसान विस्थापित हुने, बेरोजगारी बढ्ने र किसान आक्रोशित भएर आन्दोलनमा जानसक्ने अवस्था आउन सक्छ।”

त्यसैगरी, असोज ६ गतेपछि कुनै पनि व्यापारीले भारतबाट केरा आयात नगर्न विशेष अनुरोध गरिएको छ। बलजफ्ती आयात भए त्यसबाट उत्पन्न हुने सम्भावित क्षतिको जिम्मेवारी महासङ्घले नलिने चेतावनीसमेत दिइएको छ।

चितवन, कैलाली, कञ्चनपुर, बर्दिया र नवलपरासीका किसान प्रतिनिधिहरूले समेत संयुक्त विज्ञप्ति जारी गर्दै आयात रोक्न माग गरेका छन्। उनीहरूको भनाइमा, “हामी सबै मिलेर नेपाली किसानलाई संरक्षण गर्ने हो भने यसपालि चाडपर्वमा नेपाली केराले नै देशभरिको माग पूरा गर्न सक्छ।”

Exit mobile version