JanaKura

सभापति देउवा निवासमा धुमधामका साथ मनाइयो गौरा पर्व

काठमाडौँ, १५ भदौ : कांग्रेस सभापति देउवा निवासमा गौरा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार बुढानिलकण्ठस्थित निवासमा गौरा पर्व मनाउने क्रममा। तस्बिरः नवीन पौडेल

काठमाडौँ, १५ भदौः
सुदूरपश्चिमेली समुदायको आस्थासँग गाँसिएको प्रमुख पर्व गौरा यस वर्ष पनि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा श्रद्धा र उत्साहका साथ मनाइएको छ।

सभापति देउवाकी धर्मपत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित काठमाडौँमा बसोबास गर्दै आएका सुदूरपश्चिमेली महिलाले पार्वतीको प्रतीकका रूपमा गौराको मूर्तिलाई पूजाआजा गर्दै देवीको आराधना गरे। पूजापछि महिलाहरुले परम्परागत देउडा गीत गाउँदै नाचगान गरी आपसमा पर्वको उल्लास बाँडे।

सो अवसरमा सङ्घीय मन्त्री, मुख्यमन्त्री, सांसददेखि काठमाडौँमा रहेका विभिन्न पेशा र क्षेत्रका सुदूरपश्चिमेली व्यक्तित्वहरूले सभापति देउवासँग भेट गरी शुभकामना आदानप्रदान गरे।

डा. राणाले शनिबार विशेष धार्मिक विधि र बाजागाजासहित गौरालाई निवासमा भित्र्याएकी थिइन्। परम्पराअनुसार, भाद्र शुक्ल पञ्चमीका दिन ‘बिरुडा पञ्चमी’ बाट सुरु हुने गौरा पर्व अष्टमीसम्म निरन्तर पूजाआजासहित मनाइन्छ। यस अवधिमा महिलाले निराहार व्रत बसेर भगवान् शिव र देवी गौरीको पूजा गरी परिवारको सुख, शान्ति, सौभाग्य र समृद्धिको कामना गर्ने प्रचलन छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा विशेष उत्साहका साथ मनाइने यो पर्वलाई पौराणिक कथासँग पनि जोडिएको छ। विश्वास गरिन्छ, देवी पार्वतीले भगवान् शिवलाई पति रूपमा पाउन कठोर आराधना गरेकी थिइन्। त्यही आराधनाको स्मृतिमा गौरा र महेश्वरको दिव्य मिलनको प्रतीकका रूपमा यो पर्व आजसम्म निरन्तर मनाइँदै आएको हो।

Exit mobile version