काठमाडौँ, १३ भदौ ।
भारतको गुवाहाटीमा जारी पाँच खेलको टी–२० शृङ्खलामा नेपाल ‘ए’ले पहिलो जित दर्ता गरेको छ। दोस्रो खेलमा नेपालले घरेलु टोली आसामलाई ९६ रनले हराउँदै श्रृङ्खलामा १–१ को बराबरी गरेको हो।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७३ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो। सन्दीप जोराले सर्वाधिक ३५ रन बनाए भने पवन सर्राफ र देव खनालले समान ३१–३१ रनको योगदान दिए। बसिर अहमदले २७, विवेककुमार यादवले अविजित २६ तथा आदिल आलम अन्सारीले १४ रन जोडे।
लक्ष्य पछ्याउन ओर्लिएको आसामको पारी १५.२ ओभरमै ७७ रनमा समेटियो। रुहिनन्दन पेगुले १७, शिवशङ्कर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए। नेपालका बलरहरू दमदार बने—युवराज खत्रीले ४ विकेट झारे भने बसिर अहमदले ३, कमलसिंह ऐरी, आकाश चन्द र विवेककुमार यादवले १–१ विकेट लिए।
आसामतर्फ आकाश सेनगुप्ताले ३ विकेट लिन सफल भए भने अभिनव चौधरीले २, आयुशमान मालाकार र अभिलश गोगोईले १–१ विकेट लिए।
यसअघि पहिलो खेलमा नेपाल ‘ए’ डकवर्थ–लुइस पद्दति (DLS) का आधारमा १५ रनले आसामसँग पराजित भएको थियो। अब शृङ्खलाको तेस्रो खेल शनिबार हुनेछ।
