काठमाडौँ, १३ भदौ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास आवश्यकताअनुसार वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋणलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।
पूर्व योजनाकार मञ्च नेपालले पाटनमा आयोजना गरेको “नेपाललाई अल्पविकसितबाट विकासशील देशमा स्तरोन्नति र बजेट कार्यान्वयनमा चुनौती” विषयक बहस कार्यक्रममा बोल्दै उहाँले अनुदानमुखी ढाँचामा मात्र टिकिरहन नसकिने र ऋणलाई पनि जिम्मेवारीपूर्वक परिचालन गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो।
“पाँच दशकदेखि योजनाबद्ध विकासमा लाग्दासमेत अपेक्षित नतिजा निकाल्न सकेका छैनौँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “योजना निर्माण गर्दा प्राथमिकता र स्रोत व्यवस्थापनसँग जोड्न सके मात्र काम प्रभावकारी हुन्छ।”
उहाँले योजना बैंकमा लागत र प्रतिफलको मूल्याङ्कन नगरी योजना राख्ने परिपाटीले समस्या बढाएको बताउनुभयो। स्थिर सरकारको वर्तमान अवस्थामा योजनालाई यथार्थ आवश्यकता र स्रोतसँग मिलाएर अघि बढाउन सके मात्रै कामको सार्थकता हुने उहाँको भनाइ छ।
तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने नियम लागू गर्दा चुनौती खेप्नुपरेको बताउँदै अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो।
कार्यक्रममा पूर्वयोजनाकार मञ्चका उपाध्यक्ष डा. पोषराज पाण्डेले क्षमता अभिवृद्धि, उत्पादकत्व वृद्धि र प्रतिस्पर्धात्मक विकास प्रक्रियालाई मजबुत बनाउँदै अन्तर्राष्ट्रिय समुदायलाई विश्वास दिलाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, प्राध्यापक डा. गोविन्द नेपालले बजेट कार्यान्वयनमा कमजोर हिसाब व्यवस्थापनका कारण बेरुजु बढ्दै गएको उल्लेख गर्नुभयो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यविधि २०७७ विपरीत असारको अन्तिम हप्तामा अनावश्यक रकमान्तर गर्ने प्रवृत्तिले खर्चलाई अव्यावहारिक बनाएको उहाँको भनाइ थियो।
