JanaKura

ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ सार्वजनिक

 

काठमाडौँ, १५ साउन ।
नेपालको समृद्धिको सपना अझ प्रस्ट रूपमा देखाउने पुस्तक ‘ट्रान्सफर्मिङ नेपालः ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ सार्वजनिक गरिएको छ। तीनजना प्राज्ञ प्रा. पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यको संयुक्त प्रयासमा तयार पारिएको यो पुस्तकले आर्थिक विकाससँगै सामाजिक न्यायको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा गहिरो दृष्टिकोण प्रस्तुत गरेको छ।

आज राजधानीमा आयोजित विमोचन कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. अच्युत वाग्लेले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो।

उपप्रधानमन्त्री सिंहले पुस्तकलाई समकालीन बहसलाई जीवन्त बनाउने ज्ञानको स्रोत भएको बताउँदै, “पुस्तकले नीति निर्माण र कार्यान्वयनमा नयाँ सोच दिन्छ,” भन्नुभयो।
पूर्वअर्थमन्त्री पाण्डेले विगतमा राजनीतिक बहस धेरै भए पनि आर्थिक बहसको कमी महसुस भइरहेको उल्लेख गर्दै भन्नुभयो, “अब बहसको दिशा आर्थिक न्याय र समृद्धिको मोडमा ल्याउन पुस्तकले सहयोग पुर्‍याउनेछ।”

उपकुलपति प्रा. वाग्लेले पुस्तकलाई शोध र नीतिमा रुचि राख्ने सबैका लागि उपयोगी बताउँदै, यसमा विगतका अध्ययनहरूलाई विश्लेषणात्मक रूपमा समेटिएको जानकारी दिनुभयो।

पुस्तकका लेखक प्रा. पुष्कर बज्राचार्यले यो पुस्तक समृद्ध नेपालमा रूपान्तरणका लागि मार्गदर्शक सुझावहरू सहित तयार गरिएको बताउनुभयो। लेखक मोहनदास मानन्धरले पुस्तकलाई विकास परियोजनाहरूका लागि आधार निर्माण गर्ने स्रोतका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो। लेखक रोजन बज्राचार्यले विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा आम पाठकका लागि पुस्तक गहिरो र उपयोगी सन्देश बोकेको बताउनुभयो।

पुस्तकमा नेपालको सामाजिक तथा आर्थिक अवस्था, समृद्धि, सामाजिक कल्याण, नीति निर्माण र रूपान्तरणका सम्भावनाहरूको समग्र विश्लेषण गरिएको छ। अर्थतन्त्रका सबै प्रमुख पक्षलाई समेट्दै, स्रोतहरूको विवेकपूर्ण प्रयोग र सन्तुलित विकासको नवीन दृष्टिकोण प्रस्तुत गरिएको यो पुस्तक, देशको नीतिगत यात्रा र भावी पुस्ताको सोचमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

 

Exit mobile version