• Jana Kura

  • 2025-07-31

 

काठमाडौँ, १५ साउनः
नेपाली क्रिकेटले फेरि एउटा ऐतिहासिक मोड लिएको छ। पहिलोपटक महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने पक्का भएको छ।

काठमाडौँको माथिल्लो र तल्लो मुलपानी क्रिकेट मैदानमा आगामी जनवरी १२ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुने यो प्रतियोगिता नेपाल क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय आयोजनाको रूपमा रहनेछ।

विश्वभरका १० उत्कृष्ट महिला क्रिकेट टोलीहरू दुई समूहमा विभाजन भई प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले सन् २०२६ मा इङ्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउने छन्।

यो गौरवशाली अवसर नेपाललाई सहजै मिलेको होइन। पहिलोपटक एसिया छनोट पार गर्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो। यसका साथै एसिया क्षेत्रबाट थाइल्याण्डले पनि स्थान बनाइसकेको छ।

आयरल्यान्ड र बङ्गलादेश भने सन् २०२४ को विश्वकप सहभागिताका आधारमा स्वतः छनोट भएका छन्। अमेरिकी क्षेत्रबाट संयुक्त राज्य अमेरिका पनि छनोट भइसकेको छ। अब बाँकी रहेका ५ स्थानका लागि अफ्रिका, युरोप र ईस्ट एसिया–प्यासिफिक क्षेत्रका टोलीहरूबीच प्रतिस्पर्धा बाँकी छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले प्रतियोगिताको खेल तालिका चाँडै सार्वजनिक गर्ने जनाएको छ।

यो प्रतियोगिता नेपालका लागि केवल खेल मात्र होइन, गौरव, क्षमता र सम्भावनाको संसारसामु परिचय गराउने सुनौलो क्षण हो। नेपाली माटोमा विश्वस्तरका खेलाडीहरू मैदानमा उत्रँदा, त्यो क्षण सम्पूर्ण देशका लागि गर्वको शिर उचाल्ने पल हुनेछ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै