काठमाडौँ, १५ साउन । काठमाडौँको कोटेश्वरमा गएराति भएको दुःखद सडक दुर्घटनामा एक युवाले ज्यान गुमाएका छन्।
कोटेश्वरस्थित काठमाडौँ महानगरपालिका ३२ को सडकमा बा.प्र.०१–००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा.प्र.०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार रहेका २५ वर्षीय नवराज तुम्सिङ मगर गम्भीर घाइते भएका थिए।
काभ्रेको रोशी गाउँपालिका–३ घर भई कोटेश्वरमै बसोबास गर्दै आएका मगरलाई तत्कालै केएमसी अस्पताल, सिनामङ्गल लगिएको थियो। तर उपचारकै क्रममा आज बिहान उनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र हाल सोही अस्पतालमा उपचाररत छन्।
ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
