JanaKura

कामपाको आग्रह : “उमालेर मात्र पिउनुहोस् पानी”

 

काठमाडौं, १५ साउन
बर्खाको पानी, आँखाले देखिँदैन संक्रमण अनि त्यहीँबाट फैलिन्छ हैजा, झाडापखाला र जीवनलाई नै जोखिम पार्ने रोगहरू। त्यसैले काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई स्पष्ट सन्देश दिएको छ “पानी उमालेर मात्र पिउनुहोस्।”

बारम्बारको वर्षा, अनि सहजै जताततै पाइने पानी। तर त्यही पानी कहिले घातक बन्छ भन्ने थाहा हुदैन। महानगरले हालै गरेको अनुगमनले यस्तै डरलाई पुष्टि गरेको छ। असार महिनामा मात्र १५९ वटा मापदण्ड नपुगेका पानीका जारहरू नष्ट गरिएका छन्।

कामपाका कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार, बजारमा पाइने सबै पानी सुरक्षित नहुन सक्छ। कुच्चिएका, फुटेका, र भित्रको पानी नदेखिने अपारदर्शी जारबाट पानी नखान कामपाको विशेष आग्रह छ। “हामी पानीको ढुवानी, वितरणदेखि उपभोक्तासम्म पुग्ने प्रत्येक चरणमा निगरानी गरिरहेका छौं,” उहाँले भन्नुभयो।

उहाँका अनुसार, केही उत्पादक कम्पनीहरूले मापदण्डविपरीत पानीको जार बजारमा पठाएका छन्। त्यसैले कामपाले व्यवसायीलाई स्पष्ट निर्देशन दिएको छ ।

त्यति मात्र होइन, कामपा अब समुदायमै पुगेर नागरिकहरूले पिउने पानीको नमूना परीक्षण गर्ने तयारीमा छ। प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रमसहित पानीको परीक्षण गरिनेछ।

कामपाका महामारी रोग रोकथाम ‘फोकल पर्सन’ ऋषि भुसालका अनुसार, यस वर्ष मनसुन चाँडै सुरु भएकाले संक्रमणको जोखिम अझ बढेको छ। बल्खु, कालीमाटी, टङ्केश्वरजस्ता क्षेत्रहरू हैजाका अघिल्ला केन्द्र भएको उल्लेख गर्दै उहाँले समयमै सावधानी अपनाउन आग्रह गर्नुभयो।

Exit mobile version