JanaKura

देउवा भन्छन् – “एआई अब भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो

सभापति देउवा–मन्तव्य मलेखु (धादिङ), ८ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार नेपाली कांग्रेस धादिङका पूर्वसभापति स्वर्गीय भरतप्रसाद उप्रेतीको १३औँ दिनको तिथिमा धुनीबेँशी नगरपालिका–७ नौबिसेमा आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्नुहुँदै। तस्बिरः शंकर श्रेष्ठ÷रासस

पाटन (ललितपुर), ११ साउन
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कृत्रिम बौद्धिकता (एआई) लाई भविष्यको कल्पना होइन, वर्तमानको आवश्यकता ठहर गर्नुपर्ने बेला आएको बताएका छन्।

नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित ‘नेपालको विकासका लागि कृत्रिम बौद्धिकता–समग्र विश्लेषण’ विषयक कार्यक्रममा सभापति देउवाले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो। एआई अब केवल सपना होइन, यो आवश्यक उपकरण हो, जसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सार्वजनिक सेवामा जिम्मेवारीपूर्वक गर्नुपर्छ।”

उहाँले प्रविधिको विकाससँगै जनताको जीवनशैलीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा व्याख्या गर्दै इन्टरनेट, मोबाइल बैंकिङ, अनलाइन सेवा, डिजिटल शिक्षा र स्वास्थ्य सेवाले जनजीवन सहज, समावेशी र सम्मानजनक बनाइरहेको उल्लेख गरे। “कांग्रेस नेतृत्वको सरकारको पालामा ल्याइएका दूरसञ्चार नीति र ऐनले अहिले देशका सबै कुनामा प्रविधिको पहुँच पुर्‍याएको छ। आज बैंकिङ सेवा होस् या कृषि परामर्श, एक क्लिकमै सम्भव हुनु नीति र प्रतिबद्धताको फल हो,” उहाँको भनाइ थियो।

सभापति देउवाले कांग्रेस सधैं नवप्रवर्तन र प्रविधिको माध्यमबाट समाजमा रूपान्तरण ल्याउने पक्षमा रहँदै आएको बताउँदै भन्नुभयो, “हामी जनतालाई केन्द्रमा राखेर प्रविधि–मैत्री, नवप्रवर्तनशील नीति बनाउँदै आएका छौं। अब सबै मिलेर समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने समय आएको छ।”

कार्यक्रममा एआई विज्ञ डा. सुरेश पोखरेलले एआईको तीव्र विकास भैरहेको र यसको उपयुक्त प्रयोगबिना समुचित विकास सम्भव नरहेको धारणा राखे।

त्यस्तै, कांग्रेस विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला भट्ट मिश्रले एआईको युगमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने सोचसहित कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
उहाँले भनिन्, “अब प्रविधिका फाइदा जनतालाई महसुस गराउने, नीति निर्माणमा गम्भीर बहस गर्ने र चुनौतीलाई समाधान गर्ने साहसिक पहल गर्नुपर्ने बेला हो।”

कांग्रेस नेतृत्वले प्रविधिलाई अब ‘विकासको मुख्य सञ्जाल’ का रूपमा हेर्ने तयारी गरेको देखिन्छ। एआई अब विज्ञानका किताबमा मात्रै होइन, हाम्रो घर–घरमा सेवा पुर्‍याउने सारथी बन्ने चरणमा प्रवेश गरिसकेको सन्देश देउवाको भनाइमा झल्किएको छ।

Exit mobile version