JanaKura

अध्यक्ष दाहाल  र नेपालको भेटवार्ता

 

काठमाडौं, साउन ११ – मुलुकको पछिल्लो राजनीतिक अवस्था र वामपन्थी शक्तिहरूबीचको सहकार्यलाई लिएर आज एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच दाहालको निवासमा भेटवार्ता भएको हो।

दुई शीर्ष नेताबीच भएको यो कुराकानीमा देशको राजनीतिक परिस्थितिको गहिरो समिक्षा गरिनुका साथै वामपन्थी एकताको सम्भावना, त्यसका सैद्धान्तिक आधार र प्रक्रिया बारेमा गम्भीर छलफल भएको बताइएको छ।

एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीका अनुसार, अन्तर्राष्ट्रिय राजनीतिमा बढ्दो शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा, त्यसले नेपालजस्ता साना मुलुकमा पार्न सक्ने प्रभाव, र वर्तमान सरकारको कार्यशैलीसमेत छलफलको केन्द्रमा थियो।

दुई दलबीच भविष्यमा सहकार्यको ढोका अझै खुला रहेको संकेत गर्दै नेताहरूले वामपन्थी ध्रुवीकरणतर्फ सकारात्मक कदम चाल्ने साझा इच्छाशक्ति देखाएको स्रोतले जनायो।

 

Exit mobile version