• Jana Kura

  • 2025-07-27

यसपटक धुन्चेबाट गोसाइँकुण्डसम्मको पैदलयात्राका क्रममा भेटिने पसलहरूमा चिया, कफी, खाना, नास्ता आदिको दररेट निर्धारण गरी सबैले देख्ने स्थानमा राखेको र यसअघि जस्तै उकालो हिँड्न गाह्रो हुनेहरूका लागि वाहनका रुपमा ‘घोडा’ को समेत व्यवस्था गरेका समितिले स्पष्ट गरेको छ । गोसाइँकुण्ड क्षेत्र विकास सामितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार गत असार २४ गतेको बाढीले रसुवागढी क्षेत्रमा मात्र नोक्सान पु¥याएको, पृथ्वीराजमार्गको गल्छीसहित काठमाडौँदेखि त्रिशूली–धुन्चे हुँदै गोसाइँकुण्डसम्मको तीर्थमार्ग सुरक्षित रहेको छ । सनातन हिन्दूधर्म संस्कृति अनुसार यही साउन शुक्ल पूर्णिमाको दिन गोसाइँकुण्डमा स्नान तथा पूजाआजा गर्नाले एकैसाथ सम्पूर्ण देवदेवताको दर्शन मिल्ने र सबै मनोकाङ्क्षा पूरा हुने विश्वास रहिआएको छ । सोही धार्मिक आस्था र विश्वासका आधारमा हरेक वर्ष जनैपूर्णिमा पर्वका अवसरमा हजारौँ भक्तजन त्यसतर्फ जाने गर्दछन् । यसवर्ष यही साउन २४ गते जनैपूर्णिमा पर्व परेको र नागपञ्चमीदेखि नै भक्तजन त्यसतर्फ जाने भएकाले सोहीअनुसार आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, गोसाइँकुण्ड क्षेत्रविकास समिति, जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, रसुवा जिल्ला अस्पताल, रेडक्रस, आयर्वेद, ट्राफिक प्रहरी कार्यालयलगायतका सरकारी निकाय आवश्यक तयारीमा जुटेको व्यवस्थापन समितिले जनाएको छ । बाटोको सरसफाइ, ट्राफिक व्यवस्थापन, शुद्ध खानेपनीको धारा, सडक बत्ती, फोहर व्यवस्थापन, कालो बजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउने, ठाउँठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, बिरामी परेकालाई उद्धारलगायतका व्यवस्थापकीय कार्य क्रमशः अघि बढाइने निर्णय भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष तामाङले जानकारी दिनुभयो । विगत २५ वर्षदेखि गोसाइँकुण्डमा रहेर गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले ‘पुत्रदा एकादशी’देखि जनैपूर्णिमा पर्वसम्म अक्सिजनसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रतिबद्वता जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालका अनुसार यसवर्ष छ जना एमबिबिएस चिकित्सकसहित सातजना स्वस्थ्यकर्मी सम्मिलित समूहलेमाथि गोसाइँकुण्डमा उपचार सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । जिल्लास्तरका अस्पताल, गोसाइँकुण्ड गाउँपालिका, जनस्वास्थ्य कार्यालय, नेपाली सेना रेडक्रस समेतका निकायले उँभोलाग्ने क्रममा बाटोमा पर्ने चन्दनबारी, लौरी विनायक, बुद्धमन्दिर लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन् ।

सामितिका अध्यक्ष सञ्जीव डिएमले काठमाडौँको बालाजुदेखि धुञ्चेसम्मको एक सय २० किलोमिटर सडकयात्राका क्रममा कुनै समस्या नभएको र धुन्चेबाट करिब डेढ दिनको पैदलयात्रापछि सहजरुपमा गोसाइँकुण्ड पुग्न सकिने भएकाले निर्धक्क भई तीर्थ यात्रामा आउन सबैसँग अनुरोध गर्नुभयो । जनैपूर्णिमा पर्व व्यवस्थापनकै सन्दर्भमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङको अध्यक्षतामा बसेको बैठकले स्थानीय निकायका जनप्रतिनिधि, नागरिक समाज, स्वास्थ्य चिकित्सक, होटल व्यवसायी, जिल्लास्थित सुरक्षा अङ्गका प्रमुख, सञ्चारकर्मी, स्थानीय व्यवसायी समेतको सहभागितामा एकीकृत सेवा प्रदान गर्ने विषयमा छलफल भई सम्बद्ध सबैको जिम्मेवारी तोकिएको छ । यसवर्ष १५ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ आवश्यक गरिएको छ । गोसाइकुण्ड जाँदा पूजाको लागि तामाको दियो, एउटा बसाह र त्रिशूल तथा धुपबत्ती साथमा लिई चढाउनुपर्ने मान्यता रहेको पुरोहित टङ्ङ्प्रसाद ढकाल बताउनुहुन्छ । गोसइँकुण्ड जाँदा बाँसको लठ्ठी मात्र प्रयोग गर्न र कुनैपनि वनस्पति नमास्न र विसर्जन गर्नुपर्ने फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले सबैसँग अनुरोध गरेको छ । यस्तै गोसाइँकुण्डमा नुहाएका बस्त्रसमेत नछोड्न र यदि छोड्नै परे ‘डम्फिङ साइट’मा मात्र फ्याँक्न निकुञ्जले सम्बद्ध सबैको ध्यानाकर्षण गरेको छ । पार्वतीकुण्ड संरक्षण अभियान्ता मि लामा गोसाइँकुण्ड पुगेर महादेवको दर्शन गरेपछि रसुवाकै गत्लाङको सिरानमा अवस्थित पार्वती माताको पनि दर्शन गर्नुपर्ने धार्मिक मान्यता रहेकाले सडक बाटो प्रयोग गरी पार्वतीकुण्डसम्म आई पुण्यआर्जन गर्नुहुन अनुरोध गर्नुहुन्छ । धुञ्चेबाट स्याफ्रुबेँसी, कोमेन, गोल्जुङ, गोदाम हुँदै सोम्दाङ जाने सडकबाट तीन घण्टामै पार्वतीकुण्ड पुग्नसकिने अभियान्ता लामाले जानकारी दिनुभयो ।-रासस

 

छुटाउनुभयो कि? सबै