JanaKura

गणतन्त्रको उत्सव: १८ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइँदै

 

काठमाडौँ, १४ जेठ — हाम्रो देशले गणतन्त्र यात्रा थालेको १८ वर्ष पूरा हुँदैछ। यस ऐतिहासिक अवसरलाई भोलि (जेठ १५ गते) स्वदेश तथा विदेशमा नेपालीहरूले हर्षोल्लाससहित मनाउने तयारी गरेका छन्।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा बिहीबार बिहान विशेष कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। राष्ट्रका लागि बलिदान गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष र त्याग गर्ने अग्रजहरूको योगदानको स्मरण गरिनेछ।

विशेष समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतले आकर्षक मार्चपास प्रस्तुत गर्नेछन्। गणतन्त्रको महत्त्व दर्शाउने झाँकीहरू, ‘गणतन्त्र दिवस–२०८२’ अंकित ब्यानरहरू र पुष्पवृष्टि कार्यक्रमले वातावरण झनै उत्सवमय बनाउनेछ।

सामाजिक न्याय, स्वाधीनता र समृद्धिको सपना बोकेर नेपाली जनताले विगतमा गरेका संघर्ष र आन्दोलनको फलस्वरूप आज हामी गणतन्त्रको गौरवपूर्ण यात्रामा छौं। तत्कालीन सात राजनीतिक दलद्वारा अगुवाइ गरिएको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा (माओवादी)को सशस्त्र सङ्घर्षका ऐतिहासिक उपलब्धिका रूपमा वि.सं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्षदेखिको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो।

यस सम्झनालाई जीवन्त राख्न गणतन्त्र दिवस हरेक वर्ष देशभर विविध कार्यक्रममार्फत मनाइन्छ। यस वर्ष पनि राजनीतिक दल, प्रदेश सरकार, स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाहरूले कार्यक्रमको आयोजना गरी गणतन्त्रको महत्त्व उजागर गर्दै छन्।

नेकपा (एमाले)ले राजधानीको भृकुटीमण्डपमा ‘गणतन्त्र उत्सव’ आयोजना गर्ने तयारी गरेको छ भने नेकपा (एकीकृत समाजवादी)ले सामाजिक तथा रचनात्मक कार्यक्रममार्फत दिवस मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।

गणतन्त्र दिवस केवल एउटा सार्वजनिक बिदा होइन, यो जनताको संकल्प, बलिदान र आशाको प्रतीक हो।

Exit mobile version