काठमाडौँ, १४ जेठ — काठमाडौं महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापन अझ प्रभावकारी बनाउन ३२ वडालाई सात क्षेत्रमा विभाजन गरेर क्षेत्रीय रूपमा व्यवस्थापन सुरु गरेको छ। यसरी छुट्टाछुट्टै क्षेत्रमा फोहर संकलन र व्यवस्थापनको जिम्मा निजी कम्पनीहरूलाई दिइएको छ।
कामपाका अनुसार, यो योजना ‘आय ठेक्का कार्यविधि, २०७९’ अनुसार सार्वजनिक सूचना जारी गरेर सञ्चालन गरिएको हो। सुक्खा फोहरबाट सामग्री पुनःप्रयोग (Material Recovery) प्रणाली लागू गरेर फोहर व्यवस्थापन सहज र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ।
इञ्जिनियर रामप्रसाद नेपालका अनुसार, हाल क्षेत्र नम्बर ७ अन्तर्गतको मटेरियल रिकभरी सुविधा (MRF) सञ्चालनमा आइसकेको छ। यस क्षेत्रमा वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ छन्।
महानगरले वार्षिक करिब रु ६ करोड ८ लाख ७२ हजार को ठेक्कामा सुक्खा फोहर बिक्रीको व्यवस्था मिलाएको हो। यसबाट बञ्चरेडाँडाँ जस्ता अन्तिम फोहर विसर्जनस्थलको बोझ घटाउने र वातावरणीय असर कम गर्ने अपेक्षा गरिएको छ।
सातवटा क्षेत्र र जिम्मा लिने कम्पनीहरू यस प्रकार छन्:
- क्षेत्र नं १: वडा २, ३, ४, ५ र ७ — नेप्सेम्याक सेवा प्रालि
- क्षेत्र नं २: वडा १, ११, २८, २९, ३० — प्राक्टिकल वेस्ट सोलुसन प्रालि
- क्षेत्र नं ३: वडा ६, ८, ९ — क्रियटिभ सरसफाइ प्रालि
- क्षेत्र नं ४: वडा १६, १७, २६ — मेची पोली इण्डष्ट्रिज
- क्षेत्र नं ५: वडा १३, १४, १५ — नेपाल ऊर्जा विकास कम्पनी
- क्षेत्र नं ६: वडा १०, ३१, ३२ — पोली वेस्ट म्यानेजमेन्ट
- क्षेत्र नं ७: वडा १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ — सञ्चालन सुरू भइसकेको
कामपाका अनुसार, बाँकी क्षेत्रहरूमा पनि मटेरियल रिकभरी फ्यासिलिटी क्रमशः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
यस प्रयासबाट काठमाडौंमा फोहरको समस्यालाई दीर्घकालीन समाधान दिने र फोहरलाई स्रोतका रूपमा प्रयोग गर्ने बाटो खुल्ने विश्वास लिइएको छ।
