पाटन, ललितपुर – जेठ १/पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी आन्दोलनलाई सशक्त बनाउँदै पार्टी एकताको अभियानलाई तीव्र रुपमा अघि बढाइएको बताएका छन्।
आज ललितपुरमा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचको एकता प्रयास औपचारिक रुपमा अगाडि बढाइएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गत आमनिर्वाचनदेखि नै समाजवादी विचारधारामा विश्वास गर्ने शक्तिहरूलाई एउटै छातामुनि ल्याउने संवाद सुरू भएको उल्लेख गरे।
“सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुँदा जनताको भरोसा बढ्छ, जनमत बलियो हुन्छ,” अध्यक्ष प्रचण्डले भने, “यो एकताले समाजवादको दिशामा नयाँ ढोका खोल्नेछ। महेन्द्र राय यादवसँग पनि निरन्तर छलफल भइरहेको छ। पार्टीको नामबारे उहाँको चासो छ, तर निकट भविष्यमा उहाँ पनि यो यात्रामा सहभागी हुनुहुनेछ भन्ने विश्वास छ।”
कार्यक्रममा नेता गंगानारायण श्रेष्ठसहित नेपाल समाजवादी पार्टीका नेताहरू औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा समायोजित भएका छन्। समझदारीपत्रमा हस्ताक्षर गर्दै श्रेष्ठले विगतका केही गल्तीले आन्दोलनमा असर पारेको स्वीकार गर्दै अब विचार र उद्देश्य मिल्नेहरूबीचको एकता अपरिहार्य रहेको बताए।
“दोष नेताहरूको नभए पनि समाजवाद निर्माणको बहसलाई अगाडि बढाउने क्रममा पार्टीहरू विभाजित भए। अब त्यो बाटो सही ठहरिएन भन्ने निष्कर्षमा हामी पुगेका छौं,” श्रेष्ठले भावुक स्वरमा भने, “विगतका गल्तीबाट पाठ सिक्दै हामी एउटै लक्ष्यसहित अघि बढ्न संकल्पित भएका छौं।”
श्रेष्ठले नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा रहेका दुई तिहाइ सदस्यहरूको समर्थनसहित यो एकता भएको स्पष्ट पारे।
महासचिव देव गुरूङले समाजवादी आन्दोलनलाई अगाडि बढाउन विचार मिल्ने सबै शक्तिसँग संवाद र सहकार्य जारी रहने जानकारी गराउँदै भने, “हामी जनवादी केन्द्रीयताको मार्गदर्शनमा पार्टीलाई अघि बढाउँदैछौं।”
पार्टी समायोजनपछि गंगानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) को सचिवको जिम्मेवारी दिइएको छ।
यो एकता नेपाली समाजवादी आन्दोलनको इतिहासमा नयाँ मोडको सुरुवात हो – जुन शक्तिशाली जनआन्दोलन र समृद्ध नेपाल निर्माणतर्फको अर्को महत्वपूर्ण पाइला बन्ने विश्वास गरिएको छ।
