• Jana Kura

  • 2025-05-09

काठमाडौँ, २६ वैशाख
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको पहिलो दिन नेपाली महिला टोलीको आकांक्षा पानीसँगै भिज्यो। थाइल्यान्डको मैदानमा आज हुने भनिएको नेपाल र हङ्कङबीचको खेल मौसमको प्रतिकूलताले टससमेत नगरी रद्द भयो।

आजको दिन नेपाली खेलाडीहरूको लागि निकै प्रतीक्षित थियो। राष्ट्रिय गीतको धुनसँगै मैदानमा उत्रने सपना बोकेर तयारीमा जुटेका थिए उनीहरू। तर विडम्बना, आकाश खुलेन। लगातारको वर्षाले मैदान खेल्न अयोग्य बनायो। अन्ततः आयोजकले खेल रद्द गर्ने निर्णय गर्नुपर्‍यो।

खेल रद्द भएपछि नेपाल र हङ्कङ दुवै टोलीले समान एक–एक अंक बाँडेका छन्।
अब नेपालले आफ्नो दोस्रो खेल यही वैशाख २९ गते पुनः हङ्कङसँग नै खेल्नेछ – यो खेल नै अब समूह ‘सी’ को समिकरण बदल्ने निर्णायक बन्न सक्नेछ।

एसिया छनोटमा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र युएई गरी ९ राष्ट्र सहभागी छन्। टोलीहरू समूह ‘ए’, ‘बी’ र ‘सी’ मा बाँडिएका छन्। नेपाल समूह ‘सी’ मा हङ्कङ र बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।

समूह चरण डबल राउन्ड रोबिन विधिमा हुनेछ, जसअन्तर्गत प्रत्येक टोलीले समूहका बाँकी दुई टोलीसँग दुई–दुई खेल खेल्नेछ। समूह विजेताले सुपर तीनमा स्थान बनाउने छन्। त्यहाँबाट शीर्ष दुई टोलीले अन्ततः महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा यात्रा तय गर्नेछन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै