काठमाडौँ, वैशाख २४ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रलाई सार्वजनिक सेवा प्रकाशन (PSP) को रुपमा रूपान्तरण गर्ने योजना सार्वजनिक गर्नुभएको छ।
१२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले समयको मागअनुसार गोरखापत्रलाई परम्परागत ढाँचाबाट अघि बढाउनु पर्ने आवश्यकता औँल्याउँदै सम्बन्धित ऐनमा संशोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।
“राणा शासनदेखि राजतन्त्र र पञ्चायतको उकालो-ओरालो पार गर्दै आएको गोरखापत्र अब लोकतन्त्र र संघीयताको यात्रामा जनमुखी बन्नुपर्छ,” उहाँले भावुक स्वरमा भन्नुभयो।
गोरखापत्र संस्थानको गौरवपूर्ण इतिहासलाई समेट्दै मन्त्री गुरुङले संस्थानका लागि सुविधा सम्पन्न भवन निर्माण, नयाँ ऐन र कर्मचारी व्यवस्थापनका विनियमावली ल्याउने योजना छिट्टै कार्यान्वयन हुने बताए। साथै, ‘फाइभ जी’ सेवा सुरुआत, AI नीति निर्माण, र दूरसञ्चार प्राधिकरणको नयाँ भवन जस्ता योजनाहरू पनि सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा गोरखापत्रका अध्यक्ष विष्णुप्रसाद सुवेदीले भवन अभावको चुनौती उठाउँदै आगामी बजेटमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री समक्ष अनुरोध गर्नुभयो।
महाप्रवन्धक लालबहादुर ऐरिले गोरखापत्रलाई अझ समयसापेक्ष बनाउँदै सम्पादकीय सामग्री र विषय चयनमा विविधता र समावेशिता ल्याइएको जानकारी दिनुभयो।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले व्यावसायिक पत्रकारितामाथि प्रश्न उठिरहेको बताउँदै सबै पक्षको सहकार्यमा पत्रकारिताको मर्यादा कायम राख्नुपर्ने धारणा राख्नुभयो।
