JanaKura

हेटौंडामा सम्पन्न भयो स्काउटको बी.टी.सी. तथा पी.टी.सी. तालिम

– नविना श्रेष्ठ,

वैशाख २१, २०८२

नेपाली स्काउट बागमती प्रदेशको आयोजनामा हेटौंडाको तीनपिप्लेमा आयोजित बी.टी.सी. (बेसिक ट्रेनिङ कोर्स) र पी.टी.सी. (प्रवेशिक प्रशिक्षक तालिम) तालिम सफलतापूर्वक सम्पन्न भएको छ। पाँच रात र छ दिनसम्म चलेको यस तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका विद्यालयका शिक्षक-शिक्षिकाहरू सहभागी थिए।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायनाले गर्नुभएको थियो। साथै, सहआयुक्त मिनादेवी श्रेष्ठ, कार्यसमितिका सदस्यहरू, बोइज र गर्ल्स कोषका कोष लिडर पपिन्द्र मान सिंह र जमुना शर्मा, हेटौंडा उपमहानगरपालिकाका स्थानीय आयुक्त अनिल आचार्य तथा अन्य पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

प्रशिक्षार्थीहरूले तालिमका अनुभवहरू साझा गर्दै, पाँच र छ दिनसम्मको यात्रा कठिन भए पनि प्रेरणाले भरिएको बताइरहेका थिए। तालिमले उनीहरूलाई जीवनको अनेक पक्ष बुझ्न र आत्मविश्वास बढाउन सघाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिलवालले जीवनमा आउने उतारचढावहरूलाई अवसरको रूपमा लिनु पर्ने र सिक्ने र सिकाउने क्रमले मानिसलाई अगाडि बढ्न सधैं मद्दत गर्ने बताए। उहाँको प्रेरणादायी भनाइले उपस्थित सबैलाई ऊर्जा थपेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीलार्इ मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
यो तालिम न केवल ज्ञानको यात्राको एक पाइलो थियो, बरु सहकार्य, सेवाभाव र आत्मविकासको एउटा स्मरणीय अध्याय पनि बन्यो।

Exit mobile version