JanaKura

श्रमिकको पसिना र समर्पणले देश अघि बढेको छ – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली सहिद दिवसका अवसरमा बुधबार लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै श्रमिकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देश अगाडि बढ्नुको आधार श्रमिकको पसिना हो, समाज बाँचेको छ उहाँहरूको समर्पणले।”

उहाँले केही वर्षअघि सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गर्दा आलोचना र व्यङ्ग्यको सामना गर्नु परेको स्मरण गर्नुभयो। तर अहिले ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिकहरूले यो योजनाबाट लाभ पाएको उल्लेख गर्नुभयो।

“अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ,” प्रधानमन्त्री ओलीले लेख्नुभयो, “छोराछोरीको उज्यालो मुहार र आमाबुबाको निश्चिन्त जीवन—यी खुसीका दृश्य अब श्रमिकको घरमा देखिन थालेका छन्। हामी यही परिवर्तन ल्याउन सफल भइरहेका छौँ।”

उहाँले श्रम र श्रमिकप्रतिको सम्मान आवश्यक रहेको भन्दै फेसबुकमा लेख्नुभयो, “जय श्रमिक, जय देश! श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ।”

 

Exit mobile version