काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियन ऐन, श्रम ऐन र सामाजिक सुरक्षा कोष जस्ता श्रमिकसम्बन्धी नीतिहरू अगाडि बढाउन कांग्रेसले सधैं अग्रणी भूमिका खेलेको बताउनुभयो।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले आज पनि श्रमजीवी वर्गले धेरै कठिनाइ झेलिरहेकाले ती समस्याको समाधानमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो।
“श्रमजीवीको हक–हितको संरक्षण, सामाजिक सुरक्षा, न्यायसंगत पारिश्रमिक र मर्यादित पेशागत जीवन सुनिश्चित गर्न कांग्रेस सधैं क्रियाशील छ,” देउवाको सन्देशमा उल्लेख छ।
सन् १८८६ को मे १ मा अमेरिकाको शिकागोमा मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै सुरु गरेको ऐतिहासिक संघर्षको स्मरणमा आजको दिन विश्वभर श्रमिक दिवसका रूपमा मनाइन्छ।
नेपालमा विसं १९९३ मा विराटनगर जुट मिल स्थापना भएसँगै श्रमिक आन्दोलनको सुरुवात भयो। विसं २००३ मा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा श्रमिकहरूले आफ्नो अधिकारका लागि गरेको पहिलो ऐतिहासिक आन्दोलनले परिवर्तनको बीउ रोपेको थियो। त्यस आन्दोलनलाई राज्यद्वारा दमन गरिए पनि जननेता बीपी कोइरालालगायत थुप्रै नेताहरूको त्यागले पछि प्रजातन्त्रको बाटो खोल्यो।
सभापति देउवाले भनेका छन्, “प्रजातन्त्रको आधारभूत माटो यही श्रमिक आन्दोलन हो। कांग्रेस र श्रमिक सधैं एकअर्काका साथमा रहँदै आएका छन्।”
विसं २०१६ मा कांग्रेसकै निर्वाचित सरकारले पहिलो पटक श्रमिकसम्बन्धी कानुन बनाएर श्रमिकलाई कानुनी अधिकार दिलाएको थियो।
उहाँले श्रमिक वर्गको लामो संघर्षबाट प्राप्त यो ऐतिहासिक दिनले नयाँ उत्साह र उर्जा भरिदिने विश्वास व्यक्त गर्दै, सबै श्रमिकहरूलाई सुख, शान्ति र समृद्धिका लागि पुनः शुभकामना दिनुभएको छ।
