काठमाडौँ, १८ वैशाखः उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको समृद्धि र विकासमा श्रमिकहरूको योगदान अतुलनीय रहेको बताउँदै श्रमिकको अधिकार, सम्मान र जीवनस्तर उकास्न सबै क्षेत्रले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले श्रमिकहरूका लागि न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नु, समयमै तलब दिनु, सामाजिक सुरक्षा, पेन्सन, बिमा, सुरक्षित कार्यस्थल र सीप विकास कार्यक्रमहरू सञ्चालन गर्न जरुरी रहेको औँल्याउनुभयो ।
उहाँले महिला श्रमिकको सुरक्षा, बालश्रमको अन्त्य र अनौपचारिक श्रम क्षेत्रको सुधार गर्न सबैलाई सक्रिय हुन आग्रह गर्नुभयो ।
श्रमजीवी वर्गको अधिकार संविधानमै सुनिश्चित भएको भन्दै उपराष्ट्रपति यादवले संघ, प्रदेश र स्थानीय सरकारलाई श्रमिकको हकहितको संरक्षण र उनीहरूको क्षमता विकासका लागि उत्तरदायी बन्नुपर्ने बताउनुभयो ।
वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स अर्थतन्त्रका लागि सकारात्मक भए पनि श्रमिकले आफ्नै देशमा सम्मानपूर्वक काम गरेर जीवन चलाउन सक्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
“यो दिवस श्रमिकको सम्मान, सुरक्षित र समान अवसरको सुनिश्चितता तथा समावेशी समाज निर्माणतर्फ दृढ संकल्प गर्ने अवसर हो,” उपराष्ट्रपति यादवले भन्नुभयो ।
