JanaKura

‘इन साइट अफ लाइभ २०३०’ सम्मेलनले नेपाललाई आँखा उपचार सेवामा विश्वमञ्चमा चिनायो

काठमाडौँ, १७ वैशाख — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालले आँखा स्वास्थ्य सेवामा उल्लेखनीय प्रगति गरेको बताउँदै यसलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

विश्वभरका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूको छाता सङ्गठन आइएपिबीद्वारा नेपालमा पहिलोपटक आयोजित ‘इन साइट अफ लाइभ २०३०’ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहरीकरण, बुढ्यौली र जीवनशैलीको परिवर्तनले आँखा सेवाको माग बढिरहेको जनाउनुभयो। उहाँले आँखा सेवा राष्ट्रिय स्वास्थ्य प्रणालीमा समावेश गर्दै विद्यालय, कार्यस्थल र समुदायसँग सहकार्य बलियो बनाइने जानकारी दिनुभयो।

सम्मेलनमा करिब १०० राष्ट्रका ५०० प्रतिनिधिको सहभागिता रहेको छ। नेपाल नेत्रज्योति सङ्घलगायतका संस्थाले देशभर २८ आँखा अस्पताल, १६० उपचार केन्द्र र ४५ शाखामार्फत सेवा दिँदै ४ करोडभन्दा बढी बिरामीको उपचार गरिसकेको उल्लेख गरियो।

नेपालमा आयोजित यो सम्मेलनले आँखा उपचार सेवा मात्र होइन, नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

Exit mobile version