काठमाडौँ, १३ /ललितपुर सिटी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि सहित च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ललितपुरले उपाधिसहित रु ८० लाख प्राप्त ग¥र्यो भने पोखराले रु ३० लाख पायो । ललितपुरलाई जित दिलाउन इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । ललितपुरले खेलको ४२औँ मिनेटमा अग्रता बनायो । उसका लागि इमोह इजाकियलको गोल गरे । पहिलो हाफमा ललितपुरले १–० को अग्रता बनायो । खेलको ६४औँ मिनेटमा भने सुदील राइले पोखरालाई खेलमा फर्काए । स्टेफन समीर बिनोङले हेडरमार्फत प्रहार गरेको बललाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बचाएका थिए तर रिबाउन्डमा आएको बललाई सुदीलले गोलमा परिणत गरे । त्यसपछि खेलको ७४औंँ मिनेटमा पोखराका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा इमोहको क्रसमा पापा इबाउले बक्सभित्रबाट गोल गरे । ललितपुर प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरमा दुई पटकको उपविजेता धनगढी एफसीलाई पराजित गरेको थियो । यस्तै, ३ जित र ३ बराबरीसहित १२ अङ्क जोड्दै ललितपुरले अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको थियो । ललितपुरले धनगढीलाई २–१ ले हराउदै फाइनल यात्रा तय गरेको थियो । पोखराले लिग चरणमा २ जित, २ बराबरी र २ हारसहित पोखराले ८ अङ्क जोड्दै गोलअन्तरको आधारमा काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुग्ने चौँथो टोली बनेको थियो । इलोमिनेटरमा चितवनसँग लिग चरणमा भोगेको हारको बदला लिँदै ३–० को जित निकाल्यो । दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
ललितपुर सिटी एफसी बन्यो एनएसएलको च्याम्पियन
