काठमाडौं १३ चैत /कामपाकि उपप्रमुख सुनिता डंगोलको अगुवाईमा महिलाहरुका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु, उपप्रमुख डंगोलद्वारा परीक्षणको शुभारम्भ भएको छ।
काठमाडौं महानगरपालिकाले महिलाहरुमा बढ्दो स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरको जोखिमलाई मध्यनजर गर्दै वीर अस्पतालमा निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सेवा सुरु गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अगुवाईमा हिजोदेखि यो कार्यक्रम सुरु भएको हो।
स्वास्थ्य मन्त्री प्रदीप पौडेल, उपप्रमुख सुनिता डंगोल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्र बस्नेतले संयुक्त रुपमा बिरामीहरुलाई परीक्षण कार्ड प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले क्यान्सर व्यक्ति, परिवार र समाजको आर्थिक तथा सामाजिक अवस्थासँग जोडिएको समस्या भएको बताइन्। उनले रोगको लक्षण नदेखिएसम्म परीक्षण नगराउने प्रवृत्तिका कारण क्यान्सर जटिल अवस्थामा पुगेपछि मात्र थाहा हुने गरेकोले समयमै परीक्षण गराउन आग्रह गरिन्। “वीर अस्पताल सबैको पहुँचमा भएको अस्पताल हो। त्यसैले सरकार-सरकारबीचको सहकार्यमा रोग पहिचान र उपचारका लागि यो सहकार्य गरिएको हो,” डंगोलले भनिन्।
महानगरपालिकाका अनुसार पहिलो दिन ४३ जना महिलाहरुको परीक्षण गरिएको छ। यसअघि वैशाख महिनामा गरिएको परीक्षणमा छुटेका र पोजेटिभ नतिजा देखिएका ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरुलाई प्राथमिकता दिइनेछ।
महानगरपालिकाले ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरुलाई नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर नाम दर्ता गरी रेफरल स्लिप लिन अनुरोध गरेको छ। यो सेवा पूर्णरुपमा निःशुल्क रहेको र क्यान्सर परीक्षण गराएर ढुक्क हुन महानगरपालिकाले आह्वान गरेको छ।
