JanaKura

मछिन्द्र फुटबल क्लबलाई केपी ओली कपको उपाधीमाथी ह्याट्रिक

 

काठमाडौं, फागुन १९: विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-० ले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले ह्याट्रिक उपाधि हासिल गरेको हो। पहिलो हाफमा १-० को अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप एक गोल गर्दै आर्मीलाई निराश बनायो। जितसँगै मछिन्द्रले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

खेलको २८ औं मिनेटमा आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेपछि मछिन्द्रले अग्रता लिएको थियो। दोस्रो हाफको ७१ औं मिनेटमा मल्लिक युसुफको पासमा स्टेफन जमाहा जालीले गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे।

प्रतियोगितामा मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १-० र आयोजक केपी ओली एफसीलाई ४-० ले हराएको थियो। आर्मीले नेपाल पुलिस क्लबलाई २-० र संकटा क्लबलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप फागुन ११ गतेदेखि सुरु भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथ खेल हेर्न दशरथ रंगशाला पुगेका थिए। इटालियन फुटबल टोलीका पूर्व कप्तान जियानलुइजी बुफोन प्रमुख अतिथिको रूपमा उपस्थित थिए। रंगशाला दर्शकले भरिभराउ थियो र खेलअघि कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए।

Exit mobile version