JanaKura

आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, देशभर विविध कार्यक्रम

 

काठमाडौं १६ फागुन/शेर्पा समुदायले प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने ग्याल्पो ल्होसार आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो शेर्पा समुदायको नयाँ वर्ष पनि हो ।

आज शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउँदै छन् । ग्याल्पो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम गरी यो पर्व भव्य रूपमा मनाइन्छ । अनुसन्धाता टीका शेर्पाका अनुसार ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन थालिएको हो ।

पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मात्र मनाइने यो पर्व हाल शेर्पा जातिको बसाइँसराइसँगै २२ जिल्लामा फैलिएको छ । यसअघि गुरुङ समुदायले पुस १५ मा तमु ल्होसार र तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइसकेका छन् ।

Exit mobile version