• Jana Kura

  • 2025-02-21

 

काठमाडौं ९ फागुन /प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सरकारले कुण्ठित नगर्ने स्पष्ट पारेका छन्। आफूहरू बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएको स्मरण गर्दै उनले सरकारबाट अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको हस्तक्षेप नहुने बताए।

ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

कार्यक्रममा महिला उद्यमीहरूलाई प्रोत्साहन गरेको र उद्योग व्यापार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै राष्ट्रिय सभाका सदस्य एवं नेपाल महिला चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष डा. अन्जान शाक्य र नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो।

सामाजिक सञ्जाल विधेयकलाई लिएर केही व्यक्तिले अभिव्यक्ति स्वतन्त्रता हनन हुन लाग्यो भनी हल्ला फैलाएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे। “हिजो टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन्,” उनले भने। स्वतन्त्रताको नाममा देशविरुद्ध लाग्ने, शान्ति सुरक्षा खल्बल्याउने र सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने उनको भनाइ थियो।

स्विट्जरल्यान्डको बैंकमा पैसा राखेको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई त्यत्रो सम्पत्ति किन चाहियो भनी प्रश्न गरे। आफ्नो जीवन खुल्ला र पारदर्शी रहेको र सम्पत्ति लुकाउनुपर्ने कुनै कारण नरहेको उनले बताए।

सुशासनबाट मात्र देशलाई समृद्धितर्फ लान सकिने भन्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न सरकारले छिटोछरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियालाई तीव्रता दिएको जानकारी गराए। व्यवसायी श्रेष्ठको जीवनीमा आधारित पुस्तक नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास उनले व्यक्त गरे।

छुटाउनुभयो कि? सबै