काठमाडौं ८ फागुन /हालै चर्चित गायक कुमार सागरको गीतलाई नेवारी भाषा प्रयोग गरी अपमानजनक रूपमा प्रस्तुत गरेका तीन जना हास्य कलाकार र उक्त शो प्रदर्शन गरेका एक जना युट्युब सञ्चालक विरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका नेवार अभियन्ताहरूले कुमार सागरको गीतलाई माध्यम बनाएर नेपाल भाषा र संस्कृतिको अपमान गरेको भन्दै युट्युब सञ्चालक सुशान्त प्रधान र हास्य कलाकारहरू सजन श्रेष्ठ, उत्सव सापकोटा र सुजन जिम्बा विरुद्ध काठमाडौं जिल्ला प्रहरी कार्यालय परिसर भद्रकालीमा किटानी जाहेरी दिएका हुन्।
थिमीका जीवपति श्रेष्ठ लगायत धेरै नेवार अभियन्ताहरूले निवेदनमा हस्ताक्षर गरेका छन्। उक्त निवेदनमा विपक्षीहरूले चर्चित गायक कुमार सागरको बेइज्जती गर्नुका साथै नेवार समुदायमाथि नै प्रहार गरेको हुँदा उनीहरूमाथि कानुनी कारवाही गर्नुपर्ने भनी अनुरोध गरिएको छ। निवेदनमा अभियन्ताहरू रवि शाक्य, सन्जय शाक्य, शैलेश शाक्य, विराज राजोपाध्याय, सुदयराज शिलाकार आदिले पनि हस्ताक्षर गरेका छन्।
अभियन्ता श्यामकृष्ण प्रजापतिका अनुसार काठमाडौं प्रहरी परिसरमा निवेदन दर्ता भएपछि प्रहरीले विपक्षीलाई फोन गरेको थियो। तर चार जना मध्ये कसैले पनि फोन उठाएनन्। अब प्रहरीले उनीहरूलाई फेरि सम्पर्क गरेर कार्यालयमा बोलाउने र नआए पक्राउ गर्ने कुरा बताएको छ। भोलि दुबै पक्षलाई बोलाएर छलफल गर्ने कुरा प्रहरीले बताएको छ।
विपक्षीहरूले कुमार सागरको गीतलाई नेवारी भाषा प्रयोग गरी गाएर त्यसमा अश्लील अर्थ निकालेर अपमान गरेका थिए। उनीहरूको यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको विरुद्ध व्यापक रूपमा पोस्ट भइरहेको छ। आफूहरूको कडा विरोध भएपछि सुजन श्रेष्ठले माफी माग्दै एउटा भिडियो पनि राखेका छन्।
