पोखरा फागुन ८/ प्रधानमन्त्री केपी शर्मा ओलीले बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी नहुने बताएका छन्। उनले नेपाललाई ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक बताउँदै दीक्षित विद्यार्थीहरूलाई इमानदार भएर देशका लागि काम गर्न आह्वान गरे। कास्कीको ढुङ्गेपाटनमा आज आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आत्मविश्वास र इमानदारीपूर्वक समाजका लागि सकारात्मक काम गर्नुपर्ने जोड दिए।
प्रधानमन्त्री ओलीले भने, “इमानदारिताले मात्र सकारात्मक सफलता पाउन सकिन्छ। बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन। तपाईंहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन। तपाईंहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ। आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ। देश र समाजका लागि केही गर्नुस्। नागरिक सर्वोच्चताको गर्व तपाईंहरूमा होस्।”
उनले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने बताए। उनले भने, “हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहसी नहुनुस्। हामीसँग उर्वर भूमि छ। यसलाई रूपान्तरणकारी विकासमा लैजान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।”
यस अवसरमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराए। उनले कुलपति पदकबाट सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरे। समारोहमा विश्वविद्यालयका अधिकारी, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरू उपस्थित थिए।