JanaKura

आज विश्व रेडियो दिवस यसरी मनाइयो

 

काठमाडौं फागुन १/आज फेब्रुअरी १३ अर्थात विश्व रेडियो दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रमको आयोजान गरी यो दिवस मनाइदैछ । आज संसारभरीका गैर सरकारी संस्था, पत्रकार, विश्वविद्यालयहरु र सरकारहरुले पहिलो विश्व रेडियो दिवस मनाइरहेका छन् ।

विश्वका सवैभन्दा धेरै मानिसको पहूँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै नेपालमा पनि रेडियो दिवस मनाउन थालिएको हो । आम मानिसको घरघरमा सहज तरिकाले आवाज गुनगुनाउन सकिने रेडियो भएकोले यसलाई विश्वमा ठूलो मान्यता दिएको छ। स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

हरेक वर्ष रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । रेडियोहरुलाई एउटा माध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरुबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोहरुलाई सूचनाको पहुँचलाई बढावा दिनका लागि प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६३ वर्ष पुगेको छ । बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।

२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका ७४ जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अहिले इजाजत प्राप्त रेडियो ५ सय १५ र नियमित प्रसारणमा ३ सय ६० वटा रेडियो रहेका छन् । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गएपनि लोडसेडिङ, आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नुपरेको छ ।

Exit mobile version