-बाबुलाल भण्डारी
सनातन (हिन्दू) धर्म:
यो विराट चराचर जगत मायामय र अनित्य छ । यसको रचना गर्ने, सञ्चालन गर्ने र अन्तत: विनाश गर्ने एउटा सर्व शक्तिमान सर्वव्यापी नियन्ता परमात्मा छ । सबै जीवात्मा उसकै सूक्ष्मरूप हुन् ।
८४ लाख योनीहरूमध्ये मानव जीवन दुर्लभ त छँदैछ यसकारण पनि अमूल्य छ कि यसै जन्ममा दुखमय भवचक्रबाट मुक्तिको मार्ग खुल्छ । जन्म, जीवन, मृत्यु र पुनर्जन्मको अनन्त चक्र नै संसार हो र ज्ञान, भक्ति, योग वा सद्कर्मले जीवको मुक्ति वा मोक्षको अवस्था ल्याउँछ । श्रुती (वेद), स्मृति (पुराणहरू) र अनेक धार्मिक ग्रन्थहरूले वर्ण व्यवस्था र जीवन पद्धतिलाई निर्देशित गर्दछन् । कर्मको पाप पुण्यजस्ता स्वभावले नै मृत्युपछि हाम्रो स्वर्ग वा नरकको गति निर्धारण हुन्छ । हिन्दू धर्मभित्र ३ परमेश्वर ( त्रिदेव- ब्रह्मा, विष्णु, महेश) र ३३ कोटि (प्रकार) का देवहरूको परिकल्पना छ र शैव, वैष्णव, शाक्त जस्ता अनेक सम्प्रदाय प्रचलित छन् ।
जैन धर्म:
कुरा त्यसो होइन, यस सृष्टिमा कुनै त्यस्तो परमात्मा छैन जसले यो संसार रचेको होस् । संसार आफै बनेको हो । केवल आत्माको अस्तित्व छ- अजर, अमर, अविनाशी आत्मा ।
जीवहरूमा मात्र होइन कि ढुङ्गा, माटो, हावा, पानी वनस्पती जस्ता अजीव समेतमा आत्मा छ, प्राण छ र तिनीहरूमा क्षति पुर्याउनु पाप हो ।पूर्णत: नैतिक जीवनचर्यामा रहनु नै मानव कर्तव्य हो भने अहिंसा सबैभन्दा ठूलो धर्म हो । जीवले जस्तोकर्म गर्छ उस्तै कर्मफल या भाग्य पाउँछ । अर्थात् कर्मकै कारण जन्म मरणको दुःखभोग वा मुक्ति हुने हो । जिन/जैनको अर्थ जित्नु हो । आफ्नो मन, वाणी अनि शरीरलाई जितेर आफैभित्रका काम, क्रोध, लोभ, मोह, अहङ्कार, ईर्ष्या आदि इन्द्रिय जन्य आवेग र प्रवृत्तिहरूमाथि नियन्त्रण पाई जितेन्द्रिय बन्ने मान्छे नै अर्हत वा अरिहन्त हो । जन्म-मरणको वन्धनबाट मुक्त यस्तो महापुरुष नै ईश्वर कहलिन्छ ।
बौद्ध धर्म:
अहँ, त्यसो पनि होइन । कुनै परमात्मा त छँदैछैन, आत्मा भन्ने पनि छैन । सबै बकवास हो । दुनियाँमा कि पुनर्जन्म छ कि त निर्वाण ।
यज्ञ, श्राद्ध, पूजापाठ र सबै कर्मकाण्डलाई अन्धविश्वास मान्ने बौद्ध धर्म अनात्मवादी र अनिश्वरवादी धर्म हो । असिमित जैविक तृष्णा कामनाहरू त्यागेर सबै प्राणीमा प्रेम र करुणा राखी अहिंसाको मार्ग अपनाइयो भने सबै दुख हट्छन् र जीवन यसै सुखमय बन्छ । बोधि वा अन्तिम सत्यको साक्षात्कार गर्ने साधकलाई बुद्ध अनि आफ्नै प्रयासले बुद्धत्व प्राप्तगरी समस्त प्राणीलाई दु:ख निरोधको मार्गदर्शन गर्ने महामानवलाई सम्यक सम्बुद्ध भनिन्छ । ४ आर्यसत्य र अष्टाङ्ग मार्गहुँदै शीलको जगमा रहेर ध्यान समाधिको पुष्टिद्वारा प्रज्ञा उत्पन्न गराउन सकेमा नै दु:खमुक्तिको अवस्था (निर्वाण)मा पुग्न सकिन्छ र यसरी निर्वाणको तहमा पुगेपछि संसारबाट छुटकारा पाइन्छ ।
शिख धर्म (खालसा पन्थ):
परमेश्वर अलिङ्गी, शास्वत, निराकार निर्गुण र सर्वशक्तिमान छ जसलाई “एक ॐकार” र “वाहेगुरु” भनिन्छ । जीवात्मा पनि निराकार नै छ र जीवन मरणको चक्र चलिरहन्छ । जीवले हरेक कर्म ईश्वरको इच्छाले नै गर्नेहुँदा कर्मको आधारमा पुनर्जन्म भन्ने हुँदैन र मृत्युपछि स्वर्ग/नर्क भन्ने पनि छैन, जे छ यस धरतीमै छ ।
गुरुनानक देव प्रवर्तक रहेको एकेश्वरवादी शिखधर्मलाई हिन्दूधर्म भित्रकै एक पन्थ मानिन्छ । सबै मान्छे ईश्वरका रचना र उनैका सन्तान हुनाले सबै समान छन्, उचनीच कोही हुँदैन । सबै धर्मका खराब कुरा त्याग्दै असल पक्ष समेटेर यस धर्मको स्थापना भएको हो । त्यसैले अन्य देवी-देवताका मूर्तिपूजा र कर्मकाण्डको सट्टा ॐकारको उपासना, नाम सुमिरन गर्ने र काम, क्रोध, लोभ, मोह र अहङ्कार मुक्त भई गुरुद्वारामा धार्मिक गुरुग्रन्थ साहिबको पुरस्चरणमा जोड दिइन्छ । यस्ता सबै गुणको सिद्धिपछि मात्र आत्मा निरङ्कार या वाहेगूरुमा विलीन भई मुक्तहुन्छ ।
चार्वाक दर्शन:
माथिका चारै धार्मिक मान्यता झुटले भरिएका र गलत हुन् । परमेश्वर परमात्मा, आत्मा, निर्वाण, मोक्ष वा मुक्ति जस्ता सबै कुरा केवल शब्दजाल हुन् ।
प्रत्यक्षलाई मात्र प्रमाण मान्न सकिन्छ । अत: आँखा, कान, नाक आदि पञ्चेन्द्रियद्वारा अनुभूत हुन नसक्ने कुरालाई कुनै तरिकाले सत्य मान्न सकिन्न । त्यस हिसाबले स्वर्ग, नरक आदि मृत्युपरान्तका कुरा कोरा कल्पना हुन् र आत्मोद्धारका लागि गरिने तथाकथित पूजापाठ, यज्ञ, श्राद्ध लगायतका यावत कर्मकाण्ड, बलिप्रथा, वैदिक तान्त्रिक साधना अन्धविश्वास बाहेक केही होइनन् ।
मरेपछि शरीर खरानी बनेर सकिन्छ, केही रहन्न । यही जिन्दगी नै एकमात्र सत्य हो, जे गर्नु छ यसै जीवनमा गर र कसरी हुन्छ दुख पीडालाई जितेर सुखी, खुसी भइ आनन्दपूर्वक बाँच । परलोकको काल्पनिक डर पालेर यस अमूल्य जीवनलाई कष्टदिने काम बिल्कुल नगर ।
“जिन्दगी नामिलेगी दोबारा अर्थात् जब बाँचिन्छ मरिन्न र जब मरिन्छ बाँचिन्न” कुरा यत्ति हो । (लेखक त्रिभुवन युनिभर्सिटीका प्राध्यापक हुन् )
