JanaKura

विश्वप्रसिद्ध रुसी लेखक अन्तोन चेखोभको १६५ औँ जन्मोत्सवमा साहित्यिक साँझ काठमाडौंमा सम्पन्न

 

 

काठमाडौँ, १४ माघ ।विश्व प्रसिद्ध रुसी लेखक अन्तोन चेखोभको १६५ औँ जन्मोत्सवमा साहित्यिक साँझ काठमाडौंमा सम्पन्न भएको छ। विश्व साहित्य इतिहासमा रूसी लेखक एवं साहित्यकार अन्तोन चेखोभले दिएको योगदान शीर्षस्थानमा रहेको छ । विश्वका कतिपय लेखकले चेखोवलाई कथा शिरोमणी मानेका छन् । रूसी साहित्यको काव्य विधामा पुश्किनको जुन स्थान छ गद्य विधामा चेखोभको त्यही स्थान छ भनेर लेभ टोल्सटोइ भन्दछन् । आफ्ना पात्रहरूको चरित्र चित्रणमा चेखोभ अद्वितीय छन् । उनी समाज जस्तो छ त्यसलाई त्यसरी नै इमानदारीपूर्वक प्रस्तुत गर्छन् । यी फिजिकल डाक्टर थिए तर व्यक्ति र समाजको प्रखर मनोविज्ञान विश्लेषक पनि थिए ।
यिनै लोकप्रिय लेखकको सम्झनामा शुक्रबार जनवरी २४, २०२५ मा नेपाल–रुस साहित्य समाज (नेरुसास) र रुसी सदन काठमाडौँको सहकार्यमा रुसी सांस्कृतिक केन्द्रको पुस्तकालय हलमा एक साहित्यिक साँझ सम्पन्न भयो । कार्यक्रमले रुसी साहित्य र संस्कृतिका थुप्रै प्रेमीहरूका साथै नेरुसास, मित्रकुञ्ज, नेपाल–रुस मैत्री र सांस्कृतिक सङ्घ, पुस्तकालयका पाठक र भाषा पाठ्यक्रमका विद्यार्थीहरूलाई एकै ठाउँमा जमघट गरायो ।


सांस्कृतिक केन्द्र पुस्तकालयका प्रमुख भावना न्यौपानेले रुसी लेखक चेखभको जीवन सृजनाको बारेमा सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभयो ।
नेरुसासका नवनियुक्त अध्यक्ष विष्णुबहादुर सिंहले नेपाल र रुसबिचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता कार्यक्रमको महत्व हुने बताउनुभयो ।
उहाँले नवगठित नेपाल–रुस साहित्य समाजको पत्र रुसी सदनका निर्देशक अन्तोन मास्लोभलाई हस्तान्तरण गर्नुभयो ।


लेखक, नेरुसासका महासचिव तथा मित्रकुञ्जका उपाध्यक्ष रामविन्दु श्रेष्ठले चेखोभको सृजनासँगको आफ्नो परिचय रुसी भाषा शिक्षिकामार्फत पाएको र विशेषगरी उनको चर्चित व्यङ्ग्य कथा ‘कारिन्दाको मृत्यु’ को पठनबाट सुरू भएको बताउनुभयो ।
लेखक रोशन शेरचनले चेखभका सृजनाहरूले मनभित्रको अथाह पीडालाइ सजीव रूपमा प्रस्तुत गर्नसक्ने क्षमता भएको बताउनुभयो ।
कार्यक्रमको दोस्रो भागमा रुसी लेखिका तच्याना च्छेद्वारा सम्पादन गरिएको ‘मार्गको निरन्तरता’ सङ्ग्रहको लेखनीमा संलग्न लेखकद्वय विष्णुबहादुर सिंह र रामविन्दु श्रेष्ठलाई उपहारस्वरूप मस्कोबाट प्राप्त पुस्तक प्रदान गरिएको थियो ।
सोही अवसरमा रुसी सदनका निर्देशक अन्तोन मास्लोभले दुई देशबिचको साहित्यिक गतिविधिमा सक्रिय सहभागितामा पु¥याएको योगदानको कदरस्वरूप रुसी लेखक सङ्घ, मस्को सहर सङ्गठनले पठाएको सम्मानपत्र रामविन्दु श्रेष्ठलाई प्रदान गर्नुभयो ।
रुसी हाउसका निर्देशक मास्लोभले सबै सहभागी र आयोजकहरूलाई धन्यवाद दिँदै यस्ता भेटघाटले दुई देशबिचको सम्बन्धको क्षितिज फराकिलो बनाउन र मानिसबिचको मित्रतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो ।

Exit mobile version