काठमाडौँ, १५ माघ : ‘सहिद दिवस २०८१’ का सन्दर्भमा नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठान काठमाडौँद्वारा आयोजित ‘राष्ट्रिय चेतना र सहिदको भावना’ विषयक कला प्रदर्शनी आजबाट नक्सालमा सुरू भएको छ ।प्रदर्शनीको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले पानसमा दिप प्रज्वलन गर्नुहुदै उद्घाटन गर्नुभयो । उहाँले देशका लागि विभिन्न समयमा भएका सहिदहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै कलाकारले आफ्ना कलामार्फत हालसम्म प्राप्त गरेका विषय जनतालाई बुझाउन सक्नुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालको संविधान २०७२ को मूल मर्मलाई आत्मसात् गर्दै परिवर्तनका लागि भएका देशभक्तिपूर्ण आन्दोलन, सङ्घर्ष, बलिदान, सहिदको उत्सर्ग र त्याग, सामाजिक रूपान्तरण, जागरण, चेतना, स्वाधिनता, माटो, लोकतन्त्र, वीरता, सहिदप्रतिको सम्मान, एकतालगायतका भाव एवं विषयवस्तुलाई समेटेर प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । अग्रज कलाकार मदन चित्रकारले कलाकारले सहिदका जीवनमा आधारित कलाकृति बनाउनुपर्ने र यस्ता कामलाई ग्यालरीमा सजाउनुपर्ने बताउनुभयो । उहाँले सहिदका विविध विषयलाई कमिक्स, स्टोरी बुक, इलस्ट्रेसनमार्फत पनि समेट्नुपर्ने धारणा राख्नुभयो । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, देवेन्द्रकुमार काफ्ले, पाल्साङ्मो लामा, प्रदिप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय वान्तवा राई, अरूणा हिङमाङ, सङ्गी श्रेष्ठ, जुपिटर प्रधान, एससी सुमन, राजन काफ्ले, राखी कर्ण, सुभाद्री सुभा, तुलसीराम भण्डारी, लक्ष्मण मण्डल, सरिता मण्डल, रूक्साना (मङ्गली) महर्जन, सुष्मा श्रेष्ठ, रामकृष्ण थापा, सुवास आचार्य, सिकेन्दर चौधरी, लीलाधर केसी, भीमबहादुर श्रेष्ठ, रेनुका महर्जनलगायतका कला समावेश छन् । यस्तै सुरेम देशार, विवेक मुकारूङ, चन्द्रा श्रेष्ठ, राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, किशोर नकर्मी, विनोदकुमार गुप्ता, एनबी गुरूङ, केशवराज खनाल, श्यामसुन्दर यादव, विक्रम प्रजापति, नारायणप्रसाद बोहजु, नेमबहादुर तामाङ, सुदनकुमार सिंह, विपना महर्जन, राजकुमार राना, कान्छाकाजी भासिमा, मङ्गोलपुत्र, मनरा प्रजापति, राजेन्द्र याकामी, महेश बास्ताकोटी, प्रकाश मानन्धर, एविना भडेलगायत कलाकारका ५४ कलाकृति राखिएका छन् ।
