• Jana Kura

  • 2025-01-27

 

काठमाडौं १४ माघ/ऐतिहासिक इखा पोखरी पुनःनिर्माण कार्यको आज (सोमबार) शिलान्यास भएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले एक समारोहबीच पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।

सहरी विकासको क्रममा जल प्रणालीको उचित व्यवस्थापन नहुँदा सुक्दै गएका पोखरीहरुमध्ये एक इखा पोखरी पुनःनिर्माण हुन लागेको हो । सुकेका पोखरीहरु पुरिने र त्यसमाथि भौतिक संरचना बन्ने क्रम बढिरहेको बेला इखा पोखरी पुनःनिर्माणले भने आशा जगाएको छ ।

पुनःनिर्माण कार्यको कुल लागत ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । करिब साढे ७ रोपनी क्षेत्रफलमा फैलिएको यस पोखरीमा करिब ६ रोपनी क्षेत्रफलमा पानी भरिने छ । पानीको भाग बाहिर वरिपरि २ मिटरको पैदल मार्ग निर्माण गरिने योजना छ । यसका साथै, आकाशे पानी संकलन गर्ने प्रणाली पनि निर्माण गरिने बताइएको छ ।

शिलान्यास समारोहमा संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनःस्थापनालाई महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले पोखरी पुनःनिर्माणपछि यससँग जोडिएका सांस्कृतिक तथा सामाजिक पक्षलाई पनि जोड्दै लैजाने प्रतिवद्धता जनाउनुभयो ।

“जल सम्पदासँग अमूर्त सम्पदाहरुको निकट सम्बन्ध रहेको छ,” उपप्रमुख डंगोलले भन्नुभयो, “त्यसैले पोखरीसँग सम्बन्धित अमूर्त सम्पदाहरुको अभिलेखन गरिने छ ।”

इखा पोखरी पुनःनिर्माणले पानीको स्रोत संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यसले वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको जगेर्नामा समेत योगदान पुर्याउने विश्वास लिइएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै