काठमाडौँ, १० माघ : नेपाली गीतसङ्गीतको क्षेत्रमा कोकिला, किन्नरीलगायत उपाधि पाउनुभएकी गायिका तारादेवीलाई स्मरण गर्दै ‘सम्झनामा तारादेवी’ सांस्कृतिक साँझ र सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार जमलस्थित सांस्कृतिक संस्थानमा तारादेवी स्मृति फाउन्डेसनद्वारा उहाँको १९औँ स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा उहाँका लोकप्रिय गीतहरूमार्फत स्मरण गरियो ।
फाउन्डेसनका संरक्षक रवि श्रेष्ठले आफ्नी आमा तारादेवीले नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याउनुभएको योगदानलाई सम्झने, चर्चा गर्ने र यसै क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ संस्था (फाउन्डेसन) स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “फाउन्डेसनमार्फत आमा (तारादेवी) को स्मृति दिवसमा गरिने कार्यक्रमले सङ्गीतकर्मीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले सम्मान गर्ने गरेका छौँ । उहाँको सपनालाई पूरा गर्न फाउन्डेसनले निरन्तर कामहरू गरिरहेको छ ।”
सो अवसरमा गीतकार तथा सङ्गीतकारहरू सिके रसाइली, तीर्थकुमारी थापालगायतलाई जनही रु २५ हजारसहित सम्मान गरिएको थियो । आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएकी गायिका तारादेवीले स्वर दिनुभएको ‘शुभकामना भरि’, ‘उकाली ओरालीहरूमा’, ‘साँघुरी बारी नि हो’, ‘त्यो धारा पानी’, ‘कालीपारि दाइ कति राम्रो’ लगायतका गीतहरू अहिलेका पुस्तामाझ पनि लोकप्रिय छन् ।
तारादेवीको जन्म वि.सं. २००२ साल माघ २ गते मङ्गलबारका दिन बाबु कृष्णबहादुर कार्की तथा आमा राधादेवीका सुपुत्रीका रूपमा इन्द्रचोक, काठमाडौँमा भएको थियो। तारादेविको वाल्यकालको नाम डोलकुमारी कार्की थियो।
तारादेवीको शिवबहादुर श्रेष्ठसँग वि.सं. २०२२ सालमा प्रेमविवाह भएको थियो। उनका पति हवाइचालक थिए। उनीहरूकी एउटी छोरी चारु तथा दुईटा छोरा शशि र रविको जन्म भएको थियो । तारादेवीका छोरा शशि वि.सं. २०५१ साल वैशाख महिनामा क्यान्सर रोगका कारण दिवङ्गत भए । उनका पति शिवबहादुर २०५५ सालमा हवाई दुर्घटनाको कारण विते ।
चार वर्षघि जागिर खोसिएको पीडा बोक्ताबोक्तै चार वर्षपछि पुत्रवियोग, त्यसको चार वर्षपछि पतिको निधन हुनु तारादेवीको जीवनका अत्यन्तै मर्माहत क्षण थिए।
अनेकौं समस्याको सामना गर्दै उनले वि.सं. २०५६ साल फागुन १३ गते एउटा सांस्कृतिक मञ्चमा उभिएर गीत गाइन्।
तारा देवी प्रसिद्ध नेपाली गायिका हुन्। यिनले आफ्नो जीवनकालमा ४ हजार भन्दा बढी नेपाली गीतहरू गाएकी छिन्।
तारादेवीले आठ वर्षको उमेरदेखि नै गाउन थाल्नुभएको थियो । उहाँले गीतकार चाँदनी शाह, माधवप्रसाद घिमिरेलगायत थुप्रै चर्चित गीतकार र सङ्गीतकार नातिकाजीलगायत व्यक्तित्वहरुको सङ्गीत संयोजनमा आफ्नो जीवनकालभरिमा करिब चार हजार गीत गाउनुभएको छ ।
गायिका तारादेवीको २०६२ सालमा निधन भएपछि उहाँको साङ्गीतिक कृति, योगदान र यात्रालाई जीवन्त बनाउने लक्ष्यले ‘तारादेवी स्मृति फाउन्डेसन’ को स्थापना गरिएको आयोजित कार्यक्रममा जानकारी गराइयो ।
