काठमाडौं १० माघ/काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा पछिल्ला दिनमा गर्मी महसुस हुन थालेको छ। माघ महिना सुरु भएसँगै तापक्रममा वृद्धि देखिन थालेको हो र केही दिनयता झनै बढी गर्मी अनुभव गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको पुष्टि गर्नुभयो। “लामो समयसम्म वर्षा नहुनु र भारतमा उच्च चापीय प्रणालीको प्रभावले तापक्रम बढेको हो,” उहाँले भन्नुभयो। “अब तापक्रम बढ्ने समय पनि सुरु हुन लागेको छ।”
उहाँका अनुसार न्यून चापीय प्रणालीले बादल र वर्षा ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन मद्दत गर्छ। “भारतको उच्च चापीय प्रणाली अबको केही दिनमा हट्ने देखिएकोले अब तापक्रम वृद्धिदर केही कम हुने अनुमान छ,” मौसमविद् अधिकारीले प्रष्ट पार्नुभयो। “तर तापक्रम भने बढ्ने क्रममै रहने छ।”
विभागले आज साँझ सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस मापन गरिएको छ।
