JanaKura

बाल उद्धारमा मनसाय र प्रक्रिया दुवै महत्वपूर्ण: उपप्रमुख डंगोल

 

काठमाडौं ९ माघ/ काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बाल उद्धार कार्यमा मनसाय र प्रक्रिया दुवै सही हुनुपर्ने बताउनुभएको छ । महानगरपालिकाद्वारा आयोजित बाल उद्धार कार्यदलका सदस्यहरुका लागि प्रदान गरिएको ७ दिने तालिमको समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

“जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा कानुनी, व्यवहारिक र बाल संवेगका कुनै पनि असर हुनु हुँदैन,” उपप्रमुख डंगोलले भन्नुभयो । उहाँले सानो ठानिएको अवस्थाले व्यक्तिको जीवनमा ठूलो नकारात्मक असर पार्न सक्ने भएकाले पूर्वानुमान गर्न सक्ने क्षमता आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यदलका सदस्यहरुमा ज्ञान वा सिपको कमीले गर्दा त्रुटि नहोस् भन्ने विषयमा आफू सचेत रहेको बताउँदै उहाँले भन्नुभयो, “काम गर्दाको मनसाय मात्र सही भएर पुग्दैन, प्रक्रिया पनि पूर्ण रूपमा पालना गरिनुपर्छ ।”

तालिममा बाल कल्याण अधिकारी, सामाजिक विकास विभाग, शिक्षा विभाग, महानगर प्रहरी बल, कल सेन्टरका प्रतिनिधि लगायत ३४ जना सहभागी थिए ।

पुस २८ गतेदेखि सञ्चालित यस तालिममा बाल अधिकार, बाल संरक्षण, घटना व्यवस्थापन र बाल उद्धार आचारसंहिता जस्ता विषयहरु समावेश गरिएका थिए ।
तालिमका एक सहभागी नगर प्रहरी जवान गंगा ढुङ्गानाले तालिमले बालबालिकाको अधिकार, अवस्था र संरक्षणका कानुनका बारेमा स्पष्ट बुझाई दिएको र बाल उद्धारप्रति आत्मविश्वास बढाएको बताउनुभयो ।

उपप्रमुख डंगोलले संघीय राजधानी व्यवस्थापनमा बाल बचाउ एक महत्वपूर्ण पक्ष भएको र यसलाई कहिल्यै बिर्सन नहुने कुरामा जोड दिनुभयो ।

महानगरपालिकामा उपप्रमुखको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन गरिएको छ । सोही समितिअन्तर्गत वडा सदस्य रसला तण्डुकारको संयोजकत्वमा बाल उद्धार कार्यदल र वडा सदस्य सृष्टि कंसाकारको संयोजकत्वमा घटना व्यवस्थापन उपसमिति गठन भएको छ ।

कार्यदलका सदस्य प्रविण सिलबालका अनुसार बालक ३९ र बालिका ३१ जना गरेर अहिलेसम्म ७० जना बालबालिकाको उद्धार गरिसकिएको छ । उनीहरुमध्ये ३६ जना बाल संरक्षण गृहमा छन् । ३३ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ ।

Exit mobile version