एजेन्सी ।
काठमाडौं ८ माघ। तीन महिनाअघि रिलिज गरिएको ‘आपटी’ गीतले यतिबेला बच्चादेखि पाकासम्म सबै दर्शक/श्रोताको मन जित्न सफल भएको छ। यो गीतको भिडियोले यसै साता युट्युबमा ९० करोडभन्दा धेरै भ्युज बटुल्दै कीर्तिमान कायम गरेको छ। रिलिज भएको ९२ दिनमै यति धेरै भ्युज पाउने यो पहिलो के-पप गीत बनेको छ। यसअघि साइको ‘गङनम स्टाइल’ ले १४४ दिनमा ९० करोड भ्युज बटुलेको पिंकभिल्लाले जनाएको छ।
‘बिलबोर्ड ग्लोबल २००’ र ‘ग्लोबल एक्स्क्लुसिभ’ जस्ता चार्टमा विगत ११ सातादेखि यो गीत लगातार पहिलो नम्बरमा रहन सफल भएको छ। ‘बिलबोर्ड हट १००’ मा पाँचौं नम्बरमा पुगेसँगै यस गीतकी गायिका रोज सूचीमा पर्ने पहिलो महिला के-पप आर्टिस्ट बनेकी छन्। यो गीतलाई के-पप ब्यान्ड ‘ब्ल्याकपिंक’ की सदस्य रोज र अमेरिकी गायक ब्रुनो मार्सले गाएका हुन्। अंग्रेजी र कोरियन भाषाको यस गीतमा विश्वभरका मानिसहरूले नाच्ने र भिडियो बनाउने क्रम चलिरहेको छ। सामाजिक सञ्जालमा यस गीतका ‘डान्सिङ च्यालेन्ज’ र अन्य भिडियोहरू व्यापक रूपमा देख्न सकिन्छ।
