काठमाडौं ६ माघ/काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक र गल्लीमा ड्राई राइजर जडान गर्ने कार्य सुरु गरेको छ। दमकल जान नसक्ने साँघुरा सडक र गल्लीमा आगलागी हुँदा आगो निभाउन प्रयोग गर्न सजिलो होस् भनेर राखिएको सुक्खा पाइप लाइन नै ड्राई राइजर हो। महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ भने केन्द्रीय योजनामा नभएका स्थानमा समेत वडाहरूले वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेका छन्।
काठमाडौं महानगरपालिकाका वडा नं. ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ड्राई राइजर जडान गरिसकिएको छ भने अन्य वडामा पनि आवश्यकता अनुसार यो प्रविधि जडान गर्ने कार्य भइरहेको छ।
ड्राई राइजर पाइप घुमाउदै भित्री गल्लीसम्म पुर्याइएको छ भने ठाउँठाउँमा दमकलको पानी फ्याँक्ने पाइप जोड्न आउटलेट पनि बनाइएको छ। करिब ३० मिटरको दूरीमा आउटलेट राखिएको छ। कामपाका उपप्रमुख सुनिता डंगोलले आफ्नो चुनाबी घोषणा पत्रमा ड्राई राइजर राख्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार आफू निर्वाचित भएपछि अहिले यस कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ ।