काठमाडौँ, ३ माघ। दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास लेख्नुभएका उहाँ २० को दशकमा ‘मुर्कुट्टा लाश, मेजरको सर्प, बिखालु इच्छापत्र, छ औँले मान्छे, बाह्र बजेको घण्टी, पानको गुलाम,नाङ्गिएकी सुन्दरी’ जस्ता कृतिका कारण अत्यन्तै लोकप्रिय लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ । उहाँको प्रकाशित शब्दभेदी लडाई, उहाँका लोकप्रिय जासुसी उपन्यासहरू हुन् भने ‘नमरी संसार देखिन्न, उल्लीबिल्ली, चट्याङचुटुङ’ हास्यव्यङ्ग्यका कृति पनि उत्तिकै लोकप्रिय रहेका उहाँका कृति सूक्ष्म रूपमा अध्ययन गर्नुभएका डा रमेशचन्द्र न्यौपानेले बताउनुभयो । तीसको दशकमा रमेशनाथ पाण्डेद्वारा सम्पादित तथा प्रकाशित ‘नयाँ सन्देश’ पत्रिकाको अन्तिम पृष्ठमा ‘विश्वामित्र नामबाट यौनप्रधान आख्यान पनि उहाँले लेख्नुभएका सम्झनुहुन्छ डा न्यौपाने । चौरासी वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन सक्ने उहाँले निर्भीक पत्रकारिता गर्नुभएको र उहाँका एकमात्र छोरा व्रजेश खनाल पनि युवापुस्तामाझ लोकप्रिय लेखकका रुपमा परिचित रहनुभएको डा न्यौपानेले बताउनुभयो । पारिवारिक स्रोतकाअनुसार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँका छ जना छोरी छन् ।