काठमाडौं ३ माघ । काठमाडौं महानगरपालिकामा कार्यरत १७२ जना नेपाल भाषा प्रशिक्षण सहायकहरुका लागि पाँच दिने पुनर्ताजगी तालिम भानु माध्यमिक विद्यालयमा सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपाल भाषा शिक्षणलाई केवल रोजगारीको रुपमा मात्र नहेर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल भाषाको माध्यमबाट काठमाडौँका स्थानीय समुदायको भाषा, संस्कृति र सम्पदाको बारेमा विद्यार्थीहरुलाई जानकारी दिन र सही रुपमा बुझाउन स्थानीय सरकारले स्थानीय भाषा सिकाउन थालेको हो। यसकारण तालिमलाई औपचारिकतामा मात्र सीमित नराखी विद्यार्थीहरुको व्यवहारमा नतिजा देखिने गरी काम गर्नुपर्छ।”
उपप्रमुख डंगोलले ‘यमरी’ जस्ता शब्दहरुलाई अनुवाद गर्न नसकिने भन्दै शिक्षकहरुमा आफूले जानेको कुरा विद्यार्थीहरुलाई सरल ढङ्गले बुझाउने क्षमता हुनुपर्नेमा जोड दिनुभयो।

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्नमा काठमाडौँ महानगरपालिकाले अनुकरणीय सिकाइ स्थापित गरेको बताउनुभयो। उहाँका अनुसार, महानगरपालिकाले पाठ्यक्रम तर्जुमा गर्नुका साथै पाठ्यपुस्तक तयार पारेको छ, जसले नेपाल भाषाको अध्यापनमा उपत्यकामा मात्र नभई अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
काठमाडौँ महानगरपालिकाले आधारभूत तहका लागि ‘येँ देय् म्हसिके’ अर्थात् ‘काठमाडौँलाई चिनौँ’ नामक स्थानीय भाषाको पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ। नेपालको संविधानको धारा ३२ ले मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार काठमाडौं महानगरले यो पाठ्यक्रम लागू गरेको हो।
यो पाठ्यक्रमको उद्देश्य ठाउँको मौलिक नामले जनाउने धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, मान्ने गरिएका, मनाउने गरिएका जात्रा, चाडपर्व, संस्कार संस्कृति, ढुंगेधारा, पाटी, सत्तलजस्ता संरचना पहिचान गर्न सिकाउने, काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, सिप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलका बारेमा जानकारी गराउनु रहेको छ।

यसको सिकाइ प्रक्रियामा बालबालिकालाई नेपाल भाषा लाद्ने शैली अपनाइने छैन, हार्दिकतापूर्वक बुझ्न सक्ने गरी सिकाइनेछ। तालिममा प्रशिक्षकहरुलाई यस्तो सिप प्रदान गर्ने र मूल्याङ्कन सिप सिकाउने गरी पाठ्यक्रम तर्जुमा गरिएको छ।
बागमती प्रदेश सरकारले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाका रुपमा मान्यता दिएको सन्दर्भमा भाषाको शुद्ध प्रयोगका लागि तालिममा व्याकरणको समेत अभ्यास गराइने बताइएको छ।