• Jana Kura

  • 2025-01-15

काठमाडौं २ माघ : ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित काठमाडौंको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औं भूकम्प स्मृति सभा सम्पन्न भएको छ।

१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको हो। यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जोडिएको छ।

यस अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापनको पहिलो उद्धारकर्ता स्थानीय समुदायलाई नै बनाउने संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो। यस पटकदेखि उपप्रमुख नै यस समारोहको प्रमुख अतिथि बन्ने परम्पराको थालनी भएको आयोजकहरूले बताए।

विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो। २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी मनाउन थालिएको भए तापनि यसपटक मेयर बालेन शाहले गृहमन्त्रीलाई बेवास्ता गरी नबोलाएकाले गृहमन्त्री कार्यक्रममा उपस्थित भएनन्।

आजको प्रमुख अतिथिका रूपमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल हुनुहुन्थ्यो र पुरानो परम्परा यस कार्यक्रमबाट तोडिएको महानगरपालिकाले जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै