काठमाडौँ, २५ पुसः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकताबद्ध भएर चुनावी मैदानमा उत्रन आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले स्थापित र सफल खेलाडी अरुको वैसाखी नटेकी आफँै दौडिएर पदक जितेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्यक्ष ओलीले ढुक्क भएर आत्मविश्वासका साथ अगाडि बढ्न प्रेरित गर्दै सफलताको कामना गर्नुभयो । मुलुकको राजनीतिक आन्दोलनसँगै गौरवशाली विद्यार्थी आन्दोलन सुुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्र स्थापना पहिले गङ्गालाल श्रेष्ठले मानवअधिकारसम्बन्धी पहिलो भाषण र सङ्गठन बनाउनुुभएको र त्यही समयदेखिको चेतना र विद्रोहका उत्तराधिकारी आफ्नो पार्टी भएको स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले त्यही बिउ छरेर एकतामा सामेल हुन आउने समूहलाई जोड्दै एमालेलाई अहिलेको राष्ट्रिय शक्ति बनाइएको र अब निर्णायक शक्ति निर्माणको दिशामा अग्रसर भएको बताउनुभयो ।