• Jana Kura

  • 2024-12-30

काठमाडौं १५ पौष /

बजारमा अनुगमन टोली आएको खवर सुनेर सटर बन्द गर्ने अवस्थालाई रुपान्तरण गरेर मेरो व्यवसायको अनुगमन गरिदिनोस्, मेरो व्यवसायको स्तर निर्धारण गरिदिनोस् भन्ने संयन्त्रका लागि काम गरिरहेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले बताउनुभएको छ ।

आज दरबार हाइस्कूलमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि आयोजना गरिएको क्षमता विकास कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । खाद्य सेवाको स्तरलाई प्रमाणीकरण गर्ने योजनाका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौँ ।

जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुृँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीका बिचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो ।’ उहाँले थप्दै भन्नुभयो, ‘प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्डबमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौँ । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ । यसपछि टोली अनुगमनमा आयो भनेर चिन्तित हुनुपर्दैन बरु मेरोमा अनुगमन गर्न आउन भ्याएको छैन, कहिले स्तरीकरण र प्रमाणीकरण गर्ने होला भनेर चिन्ता गर्नु पर्ने हुन्छ ।’

अनुगमनले स्वच्छता, गुणस्तरीयता र मूल्यसहित प्रचलित पेशागत मर्यादाका पक्ष हेरेर उपभोक्ताको हक सुनिश्चित गर्ने हो । यी विधि र प्रक्रिया पालना नगर्दा मात्र जरिवाना हुन्छ । विधि पालना गर्नेहरुको क्षमता विकासमा अनुगमनले सहयोग गर्दै आएको छ ।’

उहाँसँग अन्तरक्रिया गर्दै व्यवसायीहरुले तालिमले व्यवसायको स्वच्छताका लागि नयाँ सिप विकास भएको, उपभोक्ता र नियामक निकायप्रति थप जिम्मेवार भएको धारणा सुनाउनुभयो । हामीलाई पेशा वृद्धि हुनेमा आत्मविश्वाश (कन्फिडेन्ट) बढेको छ । यसमा हामी पेशाकर्मीका दायित्वप्रति प्रतिवद्धता (कमिटमेन्ट) गर्न चाहन्छौँ । उहाँहरुको भनाइ थियो । आजको तालिममा ३६६ जनाको सहभागिता थियो ।

तालिममा सहभागी हुन पाएकोमा व्यावसायिक संघसंस्थाहरुले उपप्रमुख सुनिता डंगालेको प्रशंसा गरेका छन् । ‘हामीलाई सथानीय सरकारले बोलाएर यसो गर्नु पर्छ भनेको यो नै पहिलो पटक हो । महानगरपालिकाको यो तालिमले हामीलाई थप जिम्मेवार वोध भएको छ ।’ जिल्ला होटल व्यवसायी संघ, काठमाडौँका अध्यक्ष सुरेश बरालले प्रतिक्रिया दिनुभयो ।

खाद्य सेवामा रहेका व्यवसायी र सेवा सम्बद्ध पेशाकर्मीलाई स्वच्छता, सरसफाइ र प्रचलित व्यवस्थाका बारेमा तालिम दिने क्रममा आज चौथो संस्करणको तालिम सकिएको हो ।

तालिम ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता, प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रमअन्तर्गतको हो । स्वच्छ खाना , उत्कृष्ट व्यापार (सेफर फुड), वेटर विजनेस सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ ।

यसको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो ।

दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसका लागि २११ जनालाई बोलाइएकोमा १६२ जना सहभागी हुनुभएको थियो ।

यसरी ४ वटा संस्करणमा ८६० जनालाई तालिममा सहभागी गराइसकिएको छ ।

खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता व्यवसायीले पालना गर्ने पर्ने दायित्वका विषयमा कक्षाहरु सञ्चालन गरिएका थिए ।

यस्तै महानगरपालिकाको स्वच्छता मूल्याङ्कन योजनाका विषय समेटेर कक्षा सञ्चालन गरिएको थियो ।

खाद्य स्वच्छतामा सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश थिए ।

प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रम समावेश छ ।

सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण भएको थियो ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै