काठमाडौँ, २४ मङ्सिर : नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ । जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो । तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ । यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । यसले चार खेलबाट ६ अङ्क जोडेको छ । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो ।
एनपिएल : अपराजित रहँदै जनकपुर वोल्ट्स शीर्ष स्थानमा
