काठमाडौँ, १८ साउन : प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीका भित्री सहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन् । यसका साथै नेवार समुदायको बाहुल्यता रहेका सहर बजारमा पनि यो पर्व मनाइन्छ । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाइ दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाइ दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरालगायत रोग नलाग्ने विश्वास रहेको बताउनुहुन्छ ।
