काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।जहाज क्याप्टेन मनिष शाक्य र को पाइलट एस कटुवालले चलाएका थिए ।
सौर्य एयरलाइन्सका अनुसार जहाजमा सवार १९ जना एयरलाइन्सकै कर्मचारी हुन् । दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिष शाक्यको भने उद्धार गरिएको छ भने अन्य १८ जनाको मृत्यु भएको छ ।जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीहरू अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, आस्विन निरौला र सुदिपलाल जोशी सवार थिए । यसैगरी, सर्वेश मरासिनी, स्याम विन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्या, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा जहाजमा सवार थिए ।सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।